नोटिफाई नेपालLoading...



रौतहट प्रहरीले फरार अभियुक्त पक्राउ गर्ने अभियानअन्तर्गत एकै दिन २६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये २५ जना चेक अनादर मुद्दाका अभियुक्त रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटले जेठ १९ गते सञ्चालन गरेको विशेष अभियानका क्रममा विभिन्न मुद्दामा फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
चेक अनादर मुद्दामा पक्राउ पर्ने अधिकांश चन्द्रपुर नगरपालिकाका बासिन्दा रहेका छन्। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का विवेक घिसिङ, रामबाबु चौधरी, पूजा पराजुली, लछुमा थापा मगर, हरिप्रसाद प्रसाईँ, दीपिका विश्वकर्मा, विकास तिमल्सिना, दुर्गा बहादुर घले, रेखा पाठक र समशेर सुनार रहेका छन्। हरिप्रसाद प्रसाईँ र समशेर सुनारविरुद्ध दुई–दुई वटा चेक अनादर मुद्दा रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी चन्द्रपुर नगरपालिका–५ का निर्मल भण्डारी, पूजा पराजुली, जक्सन मियाँ कबारी, उमेश साह र ओमनाथ गिरीलाई पनि चेक अनादर मुद्दामा पक्राउ गरिएको छ।
यस्तै चन्द्रपुर नगरपालिका–६ का रबि अख्तर अन्सारी, गीता कुमारी राई, सबिना कार्की राउत, अमर बहादुर ठाकुर, बसन्तकुमार चौधरी र मुकेश चौधरी पनि चेक अनादर मुद्दामा पक्राउ परेका छन्।
यसैगरी गरुडा नगरपालिका–८ का लखिन्द्र गुप्ता र वृन्दावन नगरपालिका–८ का विवेक यादवलाई पनि चेक अनादर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका २६ जनामध्ये चन्द्रपुर नगरपालिका–६ का मुकेश चौधरीलाई भने सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।
पक्राउ गरिएका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।






२२ जेठ , २,०८३