नोटिफाई नेपालLoading...



जिल्ला अस्पतालहरूले सामान्य खालका अपरेशनका बिरामी माथिल्लो निकाय अर्थात् केन्द्रीय अस्पतालमा रेफर गरे कारबाही हुने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बताइन्।
सामान्य अपरेशन समेत रेफर गर्दा ठूला अस्पतालहरूमा बिरामीको चाप बढेकोले अबदेखि साना तथा सामान्य प्रकृतिका अपरेशनका बिरामीलाई रेफर गर्न नपाइने गरी व्यवस्था गरेको बताइन्।
नागरिकसँगको कुराकानीमा मन्त्री मेहताले भनिन्, ‘७७ जिल्ला अस्पतालहरूसँग छलफल भएको छ, अबदेखि साना अपरेशनमा जथाभाबी रेफर गर्न प्रतिबन्ध लगाइसकेका छौ’।
जिल्ला अस्पतालहरूको सेवा र क्षमताको बारेमा मापदण्ड कायम गरी अनावश्यक रेफर नगर्ने गरी सेवा प्रदान गर्ने व्यवस्था गरेको मन्त्री मेहताले बताइन्।
‘वीर अस्पतालमा यस्ता बिरामी भेटिए, बिरामीको चापको कारण हप्तौँ पालो नपाएको स्थिति थियो, उनको उपचार जिल्ला अस्पतालमै सम्भव थियो,’उनले भनिन्।
यस्तै, उनले अस्पतालको सेवामा सुधार गर्ने बताइन्।‘हाइड्रोशील, एपेन्डिक्स जस्ता साना अपरेशन जिल्ला अस्पतालमै हुन्छ, उनको रेफर अनावश्यक थियो’ उनले भनिन्।
यस्तै, स्वास्थ्य मन्त्री मेहताले साना तथा सामान्य शल्यक्रियाका बिरामीको उपचार जिल्ला अस्पतालमै भएमा केन्द्रीय तथा सङ्घीय अस्पतालहरूमा स्वतः बिरामीको चाप घट्ने र बिरामीले गुणस्तर तथा छरितो सेवा पाउने बताइन्।








२४ जेठ , २,०८३