नोटिफाई नेपालLoading...



नेपालका प्रमुख क्यान्सर अस्पतालहरूमा किमोथेरापी उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभाव भएपछि क्यान्सर बिरामीको उपचार प्रभावित हुन थालेको छ। विशेषगरी किमोथेरापीमा व्यापक रूपमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन बजारमा नपाइएपछि अस्पतालहरूले उपचार व्यवस्थापनमै कठिनाइ भोगिरहेका छन्।
भरतपुर क्यान्सर अस्पताल, वीर अस्पताल तथा भक्तपुर क्यान्सर अस्पताल लगायतका संस्थाले देशभर नै यी औषधिको अभाव गम्भीर बन्दै गएको बताएका छन्। नेपालमा उत्पादन नहुने यी औषधि भारतबाट आयात हुँदै आएका थिए। तर पछिल्लो समय आयातकर्ता कम्पनीहरूले आपूर्ति गर्न नसकेपछि संकट गहिरिएको अस्पतालहरूको भनाइ छ।
सबैभन्दा बढी क्यान्सर बिरामी उपचार गर्ने भरतपुर क्यान्सर अस्पतालमा समेत दुवै औषधिको मौज्दात सकिन थालेको छ। अस्पतालका निवर्तमान निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. उमेश नेपालका अनुसार सिस्प्लाटिनको अभाव पहिलेदेखि नै थियो भने केही बढी स्टक रहेको कार्बोप्लाटिन पनि हालैदेखि सकिन थालेको हो। अस्पतालमा दैनिक करिब ७० जना बिरामीले किमोथेरापी सेवा लिने गरेका छन्।
यस्तै, दैनिक ठूलो संख्यामा क्यान्सर बिरामीको उपचार हुने भक्तपुर क्यान्सर अस्पतालले पनि केही दिनयता दुवै औषधि अभाव भइसकेको जनाएको छ। औषधि नहुँदा विभिन्न प्रकारका क्यान्सर बिरामीको किमोथेरापी उपचार रोकिएको अस्पतालका निर्देशक डा. उज्ज्वल आचार्यले बताए। अस्पतालमा दैनिक औसत ६० जना बिरामीले किमोथेरापी सेवा लिन्छन्।
वीर अस्पताल मा पनि अवस्था उस्तै छ। अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईंका अनुसार औषधि अभावकै कारण कतिपय बिरामीको उपचार रोकिएको छ। ‘पैसा हुने बिरामीले महँगोमा भए पनि बाहिरबाट औषधि जुटाइरहेका छन्, तर विपन्न बिरामी उपचारकै पर्खाइमा छन्,’ उनले भनिन्। वीर अस्पतालमा दैनिक ४० देखि ५० जनासम्म बिरामीलाई किमोथेरापी दिनुपर्ने अवस्था छ।
विशेषज्ञहरूका अनुसार यी औषधि अधिकांश क्यान्सर उपचारमा प्रभावकारी मानिन्छन् र नेपालका प्रायः अस्पतालमा प्रयोग हुँदै आएका छन्। समयमै किमोथेरापी नपाउँदा सुरुको अवस्थामा रहेको क्यान्सर शरीरका अन्य भागमा फैलिन सक्ने जोखिम बढ्छ। यसले बिरामीको ज्यानै जोखिममा पार्न सक्ने चिकित्सकहरूको चेतावनी छ।
सार्क फेडेरेशन अफ अन्कोलोजी नेपाल ले देशभर नै यी औषधिको अभाव रहेको जनाएको छ। फेडेरेशनकी अध्यक्ष डा. सन्ध्या चापागाईंका अनुसार औषधि उत्पादनमा प्रयोग हुने चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेपछि उत्पादन लागत पनि बढेको छ। तर नेपाल सरकारले वर्षौंअघि राजपत्रमा तोकेको मूल्य कायम रहेकाले नयाँ मूल्यअनुसार औषधि आपूर्ति गर्न आयातकर्ता कम्पनीहरू तयार नभएको उनले बताइन्।
‘अन्तर्राष्ट्रिय बजारमा औषधिको मूल्य धेरै बढिसकेको छ, तर नेपालमा दशकअघिको मूल्यकै सीमा कायम हुँदा आपूर्ति अवरुद्ध भएको हो,’ डा. चापागाईंले भनिन्।
संकट समाधानका लागि फेडेरेशनले सरकारसँग औषधिको मूल्य समायोजन तथा नयाँ विकल्पका औषधिलाई स्वीकृति दिन आग्रह गर्दै पत्राचार गरिसकेको जनाएको छ। भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. चालिसेले पनि नेपालमा यी औषधि उत्पादन नहुने भएकाले आयात सहज बनाउने, नयाँ औषधिलाई अनुमति दिने तथा मूल्य समायोजनमा सहजीकरण गर्नुपर्ने बताए।
नेपाल औषधि उत्पादक संघका महासचिव सन्तोष बरालका अनुसार यी औषधिको विकल्पमा अन्य औषधि उपलब्ध भए पनि चिकित्सकहरूमा प्रयोगको अभ्यास कम हुनु र मूल्य समायोजन नहुनुले समस्या थप जटिल बनेको छ।








२५ जेठ , २,०८३