नोटिफाई नेपालLoading...



सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौं) ले प्रदान गर्दै आएको स्वास्थ्य उपचार सुविधालाई प्रदेशस्तरसम्म विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नीतिअनुसार अब निजामती कर्मचारीले काठमाडौँ बाहिरका तोकिएका प्रदेश अस्पतालहरूबाटै सहुलियतपूर्ण उपचार पाउने भएका हुन्।
मन्त्रालयले निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारलाई सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न प्रदेश अस्पतालहरूसँग सम्झौता सुरु गरेको छ।
यसै सिलसिलामा सोमबार पोखरास्थित गण्डकी अस्पतालसँग औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौतासँगै गण्डकी प्रदेशका कर्मचारी र तिनका परिवारले सिभिल अस्पतालले दिँदै आएको छुट तथा सहुलियतसहितको उपचार सोही अस्पतालबाट प्राप्त गर्नेछन्।
यसअघि नै मधेस प्रदेशका लागि वीरगञ्जको नारायणी अस्पताल र बागमती प्रदेशका लागि चितवनको भरतपुर अस्पतालसँग मन्त्रालयले सम्झौता गरिसकेको छ।
मन्त्रालयका अनुसार यी दुवै अस्पतालबाट आजैदेखि निजामती कर्मचारी स्वास्थ्य सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
उपचार सेवा प्राप्त गर्नका लागि निजामती कर्मचारी वा अवकाशप्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने व्यवस्था गरिएको छ।
परिचयपत्रका आधारमा मात्रै तोकिएको छुट र सहुलियत प्राप्त हुने मन्त्रालयले प्रस्ट पारेको छ।
बाँकी रहेका अन्य प्रदेशहरूमा पनि सेवा विस्तारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँगको समन्वयमा अस्पतालहरूको सूचीकरण कार्य सम्पन्न भइसकेको छ।
आवश्यक प्राविधिक तयारी पूरा भएलगत्तै सबै प्रदेशबाट कर्मचारीहरूले स्वास्थ्य उपचार सेवा पाउने मन्त्रालयको दाबी छ।
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने कर्मचारी र उनीहरूका परिवारको सहजताका लागि यो कदम चालिएको बताइन्।
‘उपचारका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता अन्त्य गर्न हामीले प्रदेशस्तरमै सिभिल अस्पतालको संयन्त्र र सहुलियत पुर्याउन लागेका हौं,’ उनले भने।








२२ जेठ , २,०८३