नोटिफाई नेपालLoading...



नेपाली कांग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजन आफ्नो पक्षका कारण नहुने बताएका छन्।
बुधबार चुनदेवीमा संस्थापन इतर समूहको बैठकमा बोल्दै उनले पार्टी एकता कायम राख्ने जिम्मेवारी सभापति गगन थापाको भएको बताए।
एकता गराउनुपर्ने नेताहरू नै अहिले टाढिएको टिप्पणी गर्दै खड्काले सभापतिले चाहे मात्रै पार्टी विभाजन हुने बताए। ‘पूर्ण खड्का, विमलेन्द्र निधिले चाहेर पार्टी विभाजन हुँदैन,’ उनले भने,‘ सभापतिले चाह्यो भने मात्रै पार्टी विभाजन हुन्छ।’
उनले विगतमा पनि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले चाहेकै कारण कांग्रेस विभाजन भएको बताए। उनले सभापति थापाले पार्टी एकताका लागि पहल गर्नुपर्ने बताए। आफूलाई पदको लोभ नभएको बताउँदै उनले भने,‘मलाई पदको कुनै लोभ छैन। निर्णय गर्नुस्, हामी पछि लाग्छौं।’
सदस्यता अद्यावधिक प्रक्रियामा प्रश्न उठाउँदै उनले एआई प्रविधि प्रयोग गरेर सदस्यको सहमतिबिनै चार लाखभन्दा बढी सदस्यता नवीकरण गरिएको आरोप लगाए।
उनले आफ्नो पक्षसँग धेरै नेता नरहेको स्वीकार गर्दै सम्पर्क कार्यालय खोल्न घर खोज्दा पनि उपयुक्त स्थान नभेटिएको बताए।
उनले कार्यालय सञ्चालनका लागि पूर्व पदाधिकारीबाट दुई लाख, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्यबाट एक लाख र केन्द्रीय सदस्यबाट ५० हजार रुपैयाँ सहयोग संकलन गरिने जानकारी दिए।







२८ असार , २,०८३