नोटिफाई नेपालLoading...



वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले उपन्यासकार वसन्त पराजुलीको ‘बखान’ उपन्यासकाे विमर्श गरेको छ।
उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित छ, जसमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा चित्रण गरिएको छ।
पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक तथा साहित्यिक अभियन्ता मिलन समीरले बखान उपन्यास बखानसिंह गुरुङको जीवनीसँगसँगै एउटा इतिहासको कालखण्ड भएको बताए। ‘बखानमा सात सालको क्रान्तिको कथा, त्यो बेलाको जीवनको तस्वीर, सहकारीसँग सम्बन्धित विषयका साथै चितवनको परिवेश समेटिएको छ’ समीरले भने, ‘चितवनको बस्ती विकासको इतिहास, नेपाली कांग्रेसको इतिहासका साथै पर्यावरणीय चेतसमेत उपन्यासमा केलाइएको छ।’
कार्यक्रममा उपन्यासकार पराजुलीले आफूले ऐतिहासिक घटनाक्रमलाई जोखिम उठाएर उपन्यास तयार पारेको बताए। चितवनको बस्ती विकास, सहकारी स्थापना र चितवनको राजनीतिमा बखानसिंह गुरुङले पुर्याएको योगदानलाई आफूले उपन्यासमा उतारेको पराजुलीले बताए।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व केन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह गुरुङको योगदानको चर्चा गर्दै बखानसिंहलाई पुस्तकमा उतार्ने काम गरेकोमा लेखक पराजुलीलाई धन्यवाद दिए।
नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट, वालिङ बजारमा भएकाे विमर्शकाे सहजीकरण शम्भु अर्यालले गरेका थिए। नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष रहेका पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रीमी आइज’ कथासङ्ग्रह प्रकाशित छन्।








२५ जेठ , २,०८३