नोटिफाई नेपालLoading...



धान रोपाइँको मुख्य सिजन सकिन लाग्दासमेत रासायनिक मलको अभाव चर्किएपछि सर्लाहीका सीमावर्ती किसान गम्भीर संकटमा परेका छन्।
सरकारी अनुदानको मल समयमै उपलब्ध नभएपछि भारतीय बजारको भर पर्न बाध्य भएका किसान अहिले कानुनी जोखिमसमेत व्यहोर्न थालेका छन्।
सर्लाहीको बलरा नगरपालिका–५, अर्नाहाका किसान बिनय सिंह चार बिघा खेतमा धान रोप्ने तयारीमा भए पनि मल नपाउँदा खेत बाँझै राख्न बाध्य भएको बताउँछन्। “असारको अन्तिमतिर आइपुग्दासमेत सरकारले मल उपलब्ध गराउन सकेन। मल नहुँदा रोपाइँ नै रोकिएको छ,” उनले गुनासो गरे।
सोही वडाका बैनाथ सिंह पनि पाँच बिघा खेतमा धान रोप्न नसकेर चिन्तित छन्। अर्का किसान बिनोद सिंहको अवस्था पनि उस्तै छ। डेढ बिघा खेती गर्ने उनी मल अभाव र पर्याप्त वर्षा नहुँदा खेती अन्योलमा परेको बताउँछन्।
मलको चरम अभावका कारण स्थानीय किसान भारतीय सीमावर्ती बजारबाट मल ल्याउन बाध्य भइरहेका छन्। तर यही बाध्यताले उनीहरू कानुनी झमेलामा समेत परेका छन्।
बिनोद सिंहका नातामा भतिजा पर्ने बलरा–३ का नागेन्द्र प्रसाद सिंह र सुरेश प्रसाद सिंह भारतको बिहारस्थित सोनबरसाबाट दुई बोरा युरिया र छ बोरा डीएपी मल लिएर नेपाल फर्किंदै गर्दा भारतीय सुरक्षा निकायको नियन्त्रणमा परेका हुन्।
भारतीय बिहार राज्यअन्तर्गत सोनबरसा प्रखण्डमा कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी)ले संयुक्त रूपमा सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको भारतीय प्रशासनले जनाएको छ।
भारत सरकारले आफ्ना किसानलाई अनुदानमा उपलब्ध गराउने रासायनिक मल नेपालतर्फ लैजाँदै गरेको आरोप उनीहरूमाथि लगाइएको छ।
भारत सरकारले आफ्ना किसानलाई उपलब्ध गराउने अनुदान प्राप्त कृषि सामग्री विदेश निकासी गर्न कानुनी प्रतिबन्ध लगाएकाले सीमाक्षेत्रमा भारतीय सुरक्षा निकायले निगरानी बढाएको छ।
छिमेकीहरू पक्राउ परेपछि बलरा क्षेत्रका किसान थप निराश बनेका छन्। सरकारले समयमै मल उपलब्ध गराउन नसक्ने र भारतबाट ल्याउन खोज्दा पक्राउ पर्ने अवस्था सिर्जना भएपछि अब खेती कसरी गर्ने भन्ने चिन्ता किसानमा बढेको छ।
यसैबीच, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले दुई नेपाली नागरिक भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेको पुष्टि गरेका छन्। उनका अनुसार घटनाबारे सर्लाही प्रशासनले गृह मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ र आवश्यक कूटनीतिक पहल अघि बढाइएको छ।
प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार भारतीय अधिकारीहरूले बरामद गरिएको मलसहित दुवै नेपाली नागरिकलाई सितामढी जिल्ला अदालतमा उपस्थित गराएका छन्। अदालतको आदेशपछि उनीहरू रिहा हुने अपेक्षा गरिएको प्रशासनले जनाएको छ।
नेपालमा धान रोपाइँको मुख्य समयमा हरेक वर्ष दोहोरिने रासायनिक मल अभावले सीमावर्ती जिल्लाका किसान भारतीय बजारमा निर्भर बन्न बाध्य भएका छन्।
भारतको अनुदान प्राप्त मल सीमापार लैजान कानुनी रोक रहेकाले यस्तो निर्भरता किसानका लागि आर्थिक मात्र नभई कानुनी जोखिमको विषयसमेत बन्दै गएको छ।
समयमै मल आपूर्तिको व्यवस्थापन गर्न नसक्ने सरकारी कमजोरी र सीमापारको कडा कानुनी व्यवस्थाबीच सीमावर्ती किसान दोहोरो मारमा परेका छन्। यस घटनाले नेपालको कृषि आपूर्ति प्रणालीमाथि गम्भीर प्रश्नसमेत उठाएको छ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जिल्लाका सबै मल डिपोलाई कालोबजारी हुन नदिन र किसानलाई सहज रूपमा मल उपलब्ध गराउन स्पष्ट निर्देशन दिइएको बताउनुभयो।
बलरा नगरपालिका–५ का वडाध्यक्ष मनोज महतोले मल आपूर्तिमा सरकारले नेपाली किसानप्रति सौतेलो व्यवहार गरेको आरोप लगाए। उनका अनुसार अर्नाहा गाउँमा हजार बिघाभन्दा बढी जमिन मल अभावका कारण रोपाइँ हुन सकेको छैन।
“नेपाल सरकारले मल उपलब्ध गराउन नसके पनि हरेक वर्ष भारतीय बजारकै भरमा खेती हुँदै आएको थियो। हाम्रो गाउँ सीमाबाट करिब २०० मिटरको दूरीमा पर्छ। तर मल ल्याउन गएका दुई जना दाजुभाइलाई भारतीय प्रशासनले नियन्त्रणमा लिएर सितामढी अदालतमा बुझाएको छ। हालसम्म पनि उनीहरू रिहा हुन सकेका छैनन्,” वडाध्यक्ष महतोले भन्नुभयो।
उनका अनुसार सीमावर्ती क्षेत्रका किसान अहिले मलको चरम अभावबाट प्रभावित छन्। रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीलगायतका जिल्लाका किसान पनि यही समस्याबाट गुज्रिरहेका छन्। मल अभावकै कारण धेरै स्थानमा धान रोपाइँ हुन सकेको छैन।
मधेश प्रदेशको भूमि, कृषि तथा सहकारी मन्त्रालयका बाली विकास प्रमुख रबिन बस्नेतका अनुसार मधेश प्रदेशमा करिब ३ लाख ६० हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका धान खेती हुँदै आएको छ। उहाँले चालु आर्थिक वर्षमा प्रदेशमा युरिया ८५ हजार मेट्रिक टन र डीएपी ६२ हजार मेट्रिक टन मल वितरण गरिएको जानकारी दिनुभयो।