नोटिफाई नेपालLoading...



नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुम्बासी बस्तीमा सरकारले बर्बरता देखाएको बताएका छन्।
बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान र कानुनले सुनिश्चित गरेको सुकुम्बासीको हक खोसेर सरकारले क्रुर व्यवहार प्रदर्शन गरेको आरोप लगाएका हुन्।
सभापति थापाले बुद्ध पूर्णिमा जस्तो पवित्र दिनमा सुकुम्बासी बस्तीका गुम्बा र विद्यालय भत्काइनु दुःखद् भएको बताए।
‘राज्यले बल प्रयोग गर्न पाउँछ तर बर्बर हुन पाउँदैन,’ उनले भने, ‘अपाङ्ग, सुत्केरी र बालबालिकालाई अपराधी जस्तो व्यवहार गरेर सडकमा पुर्याउनु लोकतान्त्रिक राज्यको चरित्र होइन। यो सरकारको कार्यशैली अत्यन्तै क्रुर र कठोर देखियो।’
भूमिहीन दलित र सुकुम्बासीको हकमा संविधानले नै स्पष्ट व्यवस्था गरेको स्मरण गराउँदै सभापति थापाले विकल्पविना बस्ती उठाउनु कानुन विपरीत हुने उल्लेख गरे।
नदी किनारमा वर्षौंदेखि बसोबास गरिरहेकाहरूलाई हटाउनुअघि उनीहरूको पहिचान र वैकल्पिक व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।
सभापति थापाले सुकुम्बासीको समस्या समाधानका लागि कांग्रेसले महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा अध्ययन समिति बनाएको जानकारी दिए। ‘हामीलाई यसमा कुनै भोटको राजनीति गर्नु छैन, उनीहरू हाम्रो भोट बैंक पनि होइनन्,’ उनले भने, ‘हाम्रो सरोकार केवल नागरिकको मर्यादा र इज्जतको रक्षा हुनुपर्छ भन्ने मात्र हो। राज्यले कसैलाई नाङ्गै बनाएर सडकमा कुदाउन पाउँदैन।’
नक्कली सुकुम्बासीलाई कारबाही गर्नुपर्ने पक्षमा पार्टी स्पष्ट रहेको भए पनि वास्तविक सुकुम्बासीमाथि गरिएको दमन न्यायोचित नभएको उनको तर्क छ।
सरकारले संसद्लाई छलेर र स्थानीयवासीको संवेदनशीलतालाई वेवास्ता गरेर डोजर आतंक मच्चाएको भन्दै उनले यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिए।
.jpg)







१ जेठ , २,०८३