नोटिफाई नेपालLoading...



अन्नपूर्ण संरक्षण क्षेत्रभित्र २०३८ सालदेखि होटल खोल्न थालिएको थियो। पदयात्रामा विदेशी पाहुना जान थालेपछि परम्परागत टहरालाई होटलको रुप दिएर पाहुनालाई जसोतसो बास बसाल्न थालिएको थियो। सामान्य टहराबाट सुरु भएको होटल व्यावसाय फस्टाउँदै जाँदा साढे चारदशक अवधिमा अन्नपूर्ण क्षेत्रमा मात्र १४ सय बढि होटल संचालनमा आएका छन्। ती होटलमा अर्बाै रुपैयाँको लगानी भएको छ।
होटल संख्यात्मक रुपमा थपिएका मात्र छैनन की त्यहाँका बासिन्दाको आयआर्जन पनि बढेको छ। हजारौंले रोजगारी पाएका छन्। स्थानीय उत्पादनले बजार पाएको छ। ग्रामीण पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधारमा मात्र अर्बौ रुपैयाँ लगानी पनि भएको छ। वर्षामा अर्बाै रुपैयाँको आर्थिक कारोबार ती होटलबाट मात्र हुने गरेको छ। त्यसको लाभ राज्यले पनि लिएको छ।
अन्नपूर्ण क्षेत्रलाई २०४३ सालदेखि बल्ल अन्नपूर्ण क्षेत्रले संरक्षण गर्न थालेको हो। २०४९ देखि अन्नपूर्ण क्षेत्रलाई संरक्षण क्षेत्र भनेर घोषणा गरेपछि संरक्षणका कामसँगै पर्यटन व्यावसाय पनि फस्टाउन थालेको स्थानीयको भनाई छ। पछिल्लो समय त पाहुनाको चाँप बढ्दै जाँदा व्यावासायी ठूलो आकारमा लगानी गर्न पनि हौसिन थालेका छन्।
‘साढे चारदशक अवधिमा अन्नपूर्ण क्षेत्रले बास्तवमा स्वरुप नै परिवर्तन गरेको छ। पछिल्ल्लो समय त पाहुना आगमन बढेपछि त्यहाँ निजी क्षेत्रले लगानी बढाएको छ। संरक्षणको काम पनि नियमित भएको छ। पर्यटनका गतिविधि पनि नियमित नै चलिरहेका छन,’अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का आयोजना प्रमुख डा.रबिन कडरिया भन्छन, ‘व्यावसायिक सम्भावना देखेपछि लगानी थपिने क्रम चलिरहेको छ।’
एक्यापका अनुसार अन्नपूर्ण क्षेत्रभित्र मात्र अहिले सबैगरि १४ सय १३ वटा होटल संचालनमा रहेका छन्। ती मध्ये निजी क्षेत्रबाट संचालित होटलको संख्या १ हजार ३२ रहेको छ। सार्वजनिक जग्गामा बनेका होटलको संख्या पनि ३ सय ८१ रहेको छ। सार्वजनिक जग्गा र निजीमा संचालित ती सबै होटलमा ११ हजार ७ सय २१ वटा कोठा रहेका छन्। ती सबै कोठामा २६ हजार ८ सय ६१ शैया रहेका छन्।

अन्नपूर्ण क्षेत्रभित्र मध्ये पनि घान्द्रुकमा निजी २ सय २२ र सार्वजनिक जग्गामा १ सय ३ गरेर ३२५ होटल रहेका छन्। ल्वाङमा ७८ निजी र १ सय ६५ सार्वजनिक जग्गामा गरेर २ सय ४३ वटा होटल संचालनमा रहेका छन्। अर्काे क्षेत्र सिक्लेसमा ३६ वटा निजी र ३२ वटा सार्वजनिक जग्गामा गरेर ६८ वटा होटल संचालनमा रहेका छन्। भुजुङमा ३५ वटा निजी र १२ वटा सार्वजनिक जग्गामा गरेर ४७ वटा होटल संचालनमा रहेका छन्। हिमाली जिल्ला मनाङमा ३ सय २० वटा निजी र ५५ वटा सार्वजनिक जग्गामा बनेको गरेर ३ सय ७५, जोमसोममा २६४ वटा निजी र १२ वटा सार्वजनिक जग्गामा गरेर २ सय ७६ र लोमान्थाङमा ७७ वटा निजी र २ वटा सार्वजनिक जग्गामा गरेर ७९ वटा होटल रहेका पनि एक्यापको तथ्यांक रहेको छ।
सार्वजनिक जग्गामा बनेका होटलमध्ये माछापुच्छ्रे मोडल ट्रेकमा २७ वटा होटल रहेका छन्। मर्दी ट्रेकमा १ सय ३, अन्नपूर्ण फेरोमा ९२, घोरेपानी–घान्द्रुक–एबिसी ट्रेकमा ९१, कोरि रुटमा ३२, उपल्लो मुस्ताङमा २ वटा सार्वजनिक जग्गामा बनेका होटल हुन। त्यस्तै भुजुङ क्षेत्रमा ४, खोप्रामा रुटमा ६, हिडन लेक रुटमा १६, नर्थ एबिसीमा ६र र अन्य रुटमा २ गरेर ३ सय ८१ वटा होटल बनेका छन्।
‘पछिल्लो समय त झनै लगानी बढाउने होढबाजी चलेको छ। घान्द्रुक, जोमसोम, मनाङ जस्ता क्षेत्रमा त होटल थप्ने होजबाजी नै चलेको छ। पाहुना आगमन बढेपछि व्यावसायिक सम्भावना देखेर व्यावसायी लगानीमा हौसिएका हुन,’ उनले भने, ‘सार्वजनिक जग्गामा अहिले पूर्वाधार थप्न रोकिएको भएपनि निजी क्षेत्रले लगानी गर्न पाउने भएपछ लगानीको आकार बढिरहेको छ।’ एक्यापका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा मात्र अन्नपूर्ण क्षेत्रमा ५ लाख भन्दा बढि संख्याम पाहुना गएका छन्।

‘पाहुनाको आगमन थपिएसँगै व्यावसायीले पनि लगानी बढाएका हुन। सिजनका बेला कहिलेकाँही बास पाउन पनि मुस्किल हुन्छ। सिजनको पाहुना आगमनलाई देखेर व्यावसायीले हरेक वर्ष लगानी पनि बढाएका हुन,’ उनले भने, ‘साढे चारदशक अवधिमा अन्नपूर्ण क्षेत्रले लगानी त भित्र्यायो नै, रोजगारी सिर्जना गर्नेदेखि राज्यलाई पनि करमार्फत योगदान दिएको छ। स्थानीयबासिको जीवनशैलीमा पनि ब्यापक परिवर्तन आएको छ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्ने आधार शिविरमा पनि २०३८ देखि होटल सञ्चालन गर्न थालिएको थियो। सुरुमा सामान्य गोठको रुपमा रहेका ती भवनलाई २०५० को दशकतिर बल्ल होटलमा परिवर्तन गरेर व्यावसायिकता दिइएको थियो। विदेशी पदयात्री बढेपछि बास बस्न र खानका लागि व्यवस्थित रुपमा बल्ल त्यहाँ होटल सञ्चालनमा आएका थिए। पदयात्री बढेर बास बस्न समस्या हुन थालेपछि व्यवसायीले मुस्किलले सामान ढुवानी गरेर आधारशिविरमा होटल सञ्चालन गरेका थिए। अहिले त्यहाँको व्यावसायले व्यावसायिक स्वरुप लिएको उनले बताए।
‘पूर्वाधार मात्र नयाँ बनाएका होईनन, उनीहरुमा व्यावसायिकता पनि विकास भएको छ। एक्यापले पनि उनीहरुलाई तालिम दिने कामसँगै संरक्षणको गतिलाई अझ बढाईरहेको छ,’ कडरियाले भने, ‘अन्नपूर्ण क्षेत्रका व्यावसायीले मात्र वर्षमा १० अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने गरेका छन्। यो सबै साढे चारदकशमा भएको परिवर्तन हो।’
टहराबाट सुरु भएका होटल व्यावसायले अहिले सुविधासम्पन्न रुप लिएको छ। पर्यापर्यटनमा पनि जोड दिएको छ। वर्षमा हजारौं विदेशी पाहुनालाई आफ्नो खोलानालादेखि हिमाली चुचुरासम्म उकाल्न सफल भएको कडरियाले बताए।
स्थानीय व्यावसायी पनि पाहुनाको आकार बढ्न थालेसँगै पछिल्लो समय निजी क्षेत्रले लगानी बढाइरुहेको बताउँछन्। अन्नपूर्ण आधारशिविरका व्यावसायी तथा छोमरोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनराज गुरुङ भन्छन, ‘अहिले त हिउँद–वर्षा सधैं पाहुना उक्लिन्छन। पाहुनाको भीड बढेपछि लगानी भित्र्याउनु स्वभाविक हो। पाहुनाको आगमन र आकर्षणका कारण पनि व्यावसायीले लगानी बढाएका हुन।’ उनका अनुसार अहिले पदमार्गका ठाउँठाउँमा आकर्षक र सुविधासम्पन्न होटल थपिने क्रम चलिरहेको छ। ‘सार्वजनिक जग्गामा अहिले होटल बनाउन रोकिएको छ। तर, निजी क्षेत्रले भने आफ्नो सम्पत्तिमा संरचना थपिरहेका छन,’ उनले भने।







२८ असार , २,०८३