नोटिफाई नेपालLoading...



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य राजीव खत्रीले जेनजी आन्दोलनको प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगले एमाले र कांग्रेसको पार्टी कार्यालयमा बसेर तयार पारिएको आरोप लगाएका छन्।
शनिबार रास्वपाको प्रथम नगर अधिवेशनमा बोल्दै खत्रीले आयोगको प्रतिवेदनले जेनजी आन्दोलनलाई आन्दोलन नभइ ‘विध्वंस’का रूपमा व्याख्या गरेको बताए।
‘यदि जेनजी आन्दोलनलाई विध्वंस भनेर व्याख्या गरिन्छ भने राष्ट्रिय मानवअधिकार आयोगले त्यो निष्कर्षमा पुग्दा स्वतन्त्र रूपमा अनुसन्धान गरेको हो कि कांग्रेस वा एमालेको पार्टी कार्यालयमा बसेर प्रतिवेदन लेखिएको हो भन्ने प्रश्न उठ्छ,’ उनले भने।
उक्त प्रतिवेदनमा आफ्नो नामसमेत भएको बताउँदै खत्रीले व्यक्तिगत आपत्ति नभएको र जेनजी आन्दोलनमा सक्रिय हुँदा आवश्यक छानबिनका लागि तयार रहेको समेत बताए।
उनले उक्त जेनजी आन्दोलन कुनै विध्वंसकारी गतिविधि नभइ परिवर्तनका लागि भएको विद्रोह रहेको बताए। सोही आन्दोलनको जगमा निर्वाचन सम्पन्न भएको र त्यसपछि नयाँ राजनीतिक शक्ति स्थापित भएको दाबी समेत गरे।
सम्बोधनका क्रममा उनले जेनजी आन्दोलनको क्रममा भएका घाइते तथा पीडितको पक्षमा आयोगले ध्यान नदिएको बताउँदै गोली चलाउने घटनाका पछाडि रहेका अन्य पक्षहरूको समेत निष्पक्ष छानबिनको आवश्यकता रहेको बताए।






२५ जेठ , २,०८३