नोटिफाई नेपालLoading...



नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्टले 'नेपालमा बालेन्द्रको नेतृत्वलाई विश्वले कसरी हेर्छ?' शीर्षकमा भोलि (बुधबार) दिउँसो २ः०० देखि ४ः३० बजेसम्म एक अन्तर्राष्ट्रिय वेबिनार आयोजना गर्ने भएको छ।
उक्त छलफलमा भारत, अमेरिका, जापान, बंगलादेश, भुटान, चीन र नेपालसहित २५ देशका २६ जना कूटनीतिज्ञ, नीति निर्माता, विद्वान तथा विज्ञहरूको सहभागिता रहने जनाइएको छ। यसले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्व तथा नेपालको परिवर्तित राजनीतिक परिदृश्यबारे अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गर्ने विश्वास गरिएको छ।
प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको सरकारले संघीय संसदको तल्लो सदनमा झण्डै दुईतिहाइ बहुमत हासिल गरेको छ। फागुन महिनामा सम्पन्न निर्वाचनपछि गठन भएको यस सरकारले विशेषगरी नेपालमा देखिएको ‘जेनेरेशन–जेड’ आन्दोलनको प्रभावलाई प्रतिबिम्वित गरेको मानिन्छ। यस परिप्रेक्ष्यमा आयोजना हुन लागेको वेबिनारले नेपालको वर्तमान सरकारलाई अन्तर्राष्ट्रिय समुदायले कसरी मूल्याङ्कन गरिरहेको छ भन्ने विषयमा प्रकाश पार्दै यसको व्यापक प्रभावबारे रचनात्मक बहसलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको आयोजकद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा छ।
वेबिनारका प्रमुख वक्ताहरूमा भारतका पूर्व राजदूत तथा पूर्व उप–राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरन, नेपालका लागि भारतका पूर्व राजदूत मन्जीव सिंह पुरी, चीनको फुडान विश्वविद्यालयका डा. चाङ चियाडोङ, अमेरिकाको प्यासिफिक फोरमका रोब योर्क, नेपालका लागि संयुक्त राष्ट्रसंघकी पूर्व शान्ति सल्लाहकार सिन्थिया पेट्रिघ तथा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलकी पूर्व उपप्रमुख जोएल हिभोनेट रहेका छन्।
नेपालमा आधारित रही कोअपरेसनले अन्तर्राष्ट्रिय सहभागिता र बहसलाई सुदृढ बनाउने कार्यमा निरन्तर योगदान पुर्याउँदै आएको छ। यसका प्रमुख कार्यक्रमहरूमा ‘इन्डो–प्यासिफिक फ्युचर फोरम’ उल्लेखनीय छ, जसले इन्डो–प्यासिफिक क्षेत्रसँग सम्बन्धित रणनीतिक विषयहरूमा गहिरो समझ विकास गर्न विश्वभरका विज्ञहरूलाई एकै ठाउँमा ल्याउने कार्य गर्दछ। साथै, कोअपरेसनले ‘ग्लोबल कन्क्लेभ’, ‘इन्टरनेशनल स्टडिज कन्भेन्सन’ तथा ‘इन्टरनेशनल वुमन समिट’ जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्दै सयौं विज्ञहरूलाई संलग्न गराइसकेको छ।
नेपालमा आणविक अप्रसार (न्यूक्लियर नन–प्रोलिफेरेशन) सम्बन्धी विषयमा सक्रिय रूपमा कार्य गर्ने एक मात्र थिंक–ट्याङ्कको रूपमा पनि कोअपरेसन परिचित छ। हाल कोअपरेसन आफ्नो स्थापना भएको १०औँ वर्ष मनाइरहेको छ।





-1766933087.jpeg)

७ जेठ , २,०८३