नोटिफाई नेपालLoading...



विश्वका सर्वाधिक गर्मी हुने ठाउँमा भारतका धेरै सहर पर्छन्। अत्यधिक गर्मी बढिरहेका बेला नरेन्द्र मोदी सरकारका सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले तातो हावा (लु) बाट बच्न अनौठो सल्लाह दिएका छन्।
उच्च तापक्रमसँग जुध्न उनले मानिसहरूलाई आफ्नो खल्तीमा प्याज बोक्न सुझाव दिएका हुन्। गत आइतबार मध्य प्रदेशको शिवपुरी (चम्बल क्षेत्र नजिकै) मा तीव्र गर्मीको चर्चा गर्दै उनले आफू कारमा वातानुकूलित यन्त्र (एसी) प्रयोग नगर्ने र त्यस्तो वातावरणमा बस्नबाट जोगिने बताएका थिए।
उनले भने, ‘म मेरो कारमा एयर कन्डिसनिङ प्रयोग गर्दिनँ, न त म एयर कन्डिसनिङ वातावरणमा बस्छु। अनि जब मानिसहरूले मलाई सोध्छन्, मे र जुनको ५१ डिग्री गर्मीमा पनि, म भन्छु, ‘यो चम्बलको छाला हो।’ अनि म तपाईंलाई अर्को कुरा भन्न चाहन्छु: म अलि जवान देखिन्छु, तर मेरो आत्मा धेरै बूढो छ। आफ्नो खल्तीमा प्याज राख्नुहोस्। तपाईंलाई केही हुनेछैन।’
खल्तीबाट प्याज निकाल्दै सिन्धियाले थपे, ‘र आजको समयमा, सबैले बक्स बोकेका छन्। सञ्चारमन्त्री प्याज बोकेका छन्। यी पुराना कुरा हुन्। र आयुर्वेदको प्रगति हुँदै जाँदा, हामीले यी कुराहरू बिर्सनु हुँदैन।’
सिन्धियाको यो भनाइलाई लिएर विपक्षी दलले भने व्यङ्ग्य गरेको छ। कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहले भाजपाका सबै नेतालाई आफ्ना वातानुकूलित कारहरू फिर्ता गर्न र गर्मीमा प्याज बोक्न सुरु गर्न सुझाव दिए। सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महाराजाको जय। सबै भाजपा नेताहरूले महाराजाबाट सिक्नुपर्छ। सबै भाजपा नेताहरूले आफ्ना वातानुकूलित कारहरू फिर्ता गर्नुपर्छ र आफ्नो खल्तीमा प्याज बोक्नुपर्छ। ज्योतिरादित्य सिन्धियाजी, जो यति भव्य राजपरिवारमा जन्मनुभएको थियो, उहाँले देखाउनुभएको सरलताको जतिसुकै प्रयास गरे पनि प्रशंसा गर्न सकिँदैन।’
हाल भारतका धेरै राज्यमा गर्मीको लहर चलिरहेको छ। मौसम विभागले दिउँसोको समयमा बाहिर ननिस्कन र प्रशस्त पानी पिउन नागरिकलाई आग्रह गर्दै आएको छ। स्वास्थ्य विज्ञहरूले भने अत्यधिक गर्मीमा बालबालिका र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउन सल्लाह दिएका छन्।
यसबिच केन्द्रीय मन्त्रीले दिएको सल्लाहले धेरैलाई हैरान बनाएको छ। विज्ञहरुका अनुसार सिन्धियाले दाबी गरेजस्तो प्याज बोक्नाले गर्मीबाट बचाउन सहयोग गर्दैन। चिकित्सकहरूले खल्तीमा प्याज राख्दा शरीरको तापक्रम नियन्त्रण हुने वा हिटस्ट्रोकबाट बच्ने कुनै वैज्ञानिक प्रमाण नभएको स्पष्ट पारेका छन्। यो परम्परागत लोक विश्वास हो, तर यसले गर्मीबाट बचाउन सहयोग गर्दैन्।
गर्मीमा पर्याप्त पानी पिउने, छायाँमा बस्ने, हल्का कपडा लगाउने र दिउँसो बाहिर ननिस्कने नै वास्तविक र प्रभावकारी उपाय हुन्। एजेन्सीको सहयोगमा








२५ बैशाख , २,०८३