नोटिफाई नेपालLoading...



प्रतिनिधिसभा सदस्य सीता थपलियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्रीको सचिवालयको संरचना, कर्मचारी, सेवा–सुविधा, सवारी साधन र राज्यको आर्थिक भारसम्बन्धी विस्तृत विवरण माग गर्दै प्रतिनिधिसभा सचिवालयमा लिखित प्रश्न पठाएकी छन्। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ४२ बमोजिम उक्त प्रश्न दर्ता गरिएको हो।
प्रधानमन्त्रीको सचिवालयमा रहेका कर्मचारीको सङख्या, तह वा सेवाअन्तर्गत नियुक्त, कानुनी व्यवस्था अनुसार नियुक्ति गरिएको हो वा हैन भन्ने जानकारी माग गरिएको छ।
साथै सचिवालयका कर्मचारीले गाडी सुविधा पाउने वा नपाउने, कस–कसले सरकारी सवारी सुविधा लिएका छन् भन्ने सूची सार्वजनिक गर्न पनि माग गरिएको छ। सचिवालयमा प्रयोग भइरहेका सवारी साधनको संख्या, सचिवालय सञ्चालनमा लाग्ने मासिक खर्च, टेलिफोन, खाजा, पेट्रोलियम खर्च सहित खर्चको विवरण उक्त प्रश्नमा माग गरिएको छ।
सांसद थपलियाले मन्त्रिपरिषद्का मन्त्रीहरूलाई पनि विशेष श्रेणीको सचिवालय सुविधा उपलब्ध गराउने चर्चा सार्वजनिक भएको भन्दै तथ्यसमेत माग गरेकी छन्।
उनले त्यस्ता सचिवालयमा कति जना कर्मचारी रहने, उनीहरूले प्राप्त गर्ने सेवा–सुविधा के–कस्ता हुने तथा त्यसबाट राज्यकोषमा कति आर्थिक भार पर्नेछ भन्ने विवरण उपलब्ध गराउन सरकारसँग आग्रह गरेकी छन्।








१ श्रावण , २,०८३