नोटिफाई नेपालLoading...

.jpg)
.jpg)
नेपालको पुरुष र महिला राष्ट्रिय टिमले एकै दिन आइतबार चीनको राष्ट्रिय क्रिकेट टोलीसँग प्रतिस्पर्धा गरे। एसियन गेम्सको छनोट खेलिरहेको नेपालले मिश्रित नजिता आत्मसाथ गर्यो। पुरुष क्रिकेट टोलीले कीर्तिमानी जित निकाल्दा महिला टोली भने निर्णायक खेलमा चीनसँग पराजित हुन पुग्यो।
एसियन गेम्स छनोटमा पुरुष क्रिकेट टोलीले चीनविरद्ध शानदान जित निकाल्दै यात्रामा सुखद् सुरुवात गरेको दिन महिला टोली भने चीनसँगै पराजित हुँदै एसियन गेम्समा छनोट हुन असफल भयो।
समूह एमा रहेको पुरुष टिमले अर्को खेल बिहीबार मलेसियासँग खेल्नेछ। मंगलबार हुने चीनसँगको खेलमा मलेसिया विजयी भए एक खेल अगावै नेपाल सेमिफाइनलमा पुग्नेछ। कतारले नाम फिर्ता लिएपछि तीन राष्ट्रले मात्र समूह एमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
समूह बीमा भने बहराइन, हङ्कङ, ओमान र सिंगापुर छन्। शीर्ष दुई टोली सेमिफाइनमा पुग्नेछन् । फाइनल पुग्ने दुई र तेस्रो हुने राष्ट्र एसियन गेम्सका लागि छनोट हुनेछन्।
महिला टोली भने तेस्रो पनि हुन नसकेपछि छनोट हुन असफल भयो। महिला छनोटतर्फ फाइनल पुगेका थाइल्यान्ड र मलेसिया तथा तेस्रो भएको चीनले एसियन गेम्समा स्थान बनाए।

पुरुष टोली
नेपालको पुरुष क्रिकेट टिमले चीनसँगको खेलमा ऐतिहासिक योगफल तयार गर्यो। टी२० अन्तर्राष्ट्रियमा नेपालले आफ्नो दोस्रो सर्वाधिक स्कोर बनाउने क्रममा २ विकेट गुमाएर ३१३ रन बनायो। यसअघि नेपालले १९औं एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो। एक रनले आफ्नो कीर्तिमान छुनबाट नेपाल आफैं पछि पर्यो।
दुई कुशलहरु भुर्तेल र मल्ल चम्किएको खेलमा रोहित पौडेलले पनि बिष्फोटक ब्याटिङ गरे। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको नेपाली टोलीका लागि ४३ बलमा कुशल भुर्तेलले १२९, कुशल मल्लले ४७ बलमा ८५ र रोहितले २१ बलमा ६९ रन बनाए।

बलिङमा पनि नेपाल हावी बन्यो। २० ओभरको खेलमा चीन ४ बल बाँकी छँदै ९२ रनमा अलआउट भयो। कुशल मल्लले ८ बल फ्याले तर रन दिएनन् । उनको नाममा ३ विकेट रह्यो। पूरा स्पेल बलिङ गरेका सन्दीप लामिछानेले २९ रन दिएर २ विकेट लिए भने ३ ओभरमा ११ रन खर्चेर सोमपाल कामीले २ विकेट चट्काए। एक विकेट नन्दन यादवको नाममा रह्यो।
महिला टोली
महिला क्रिकेट टोलीलाई भने आइतबार क्वालालाम्पुर फापेन। बलिङ र ब्याटिङ दुवैमा चिनियाँ महिला टोली हावी बन्यो। वर्षाले प्रभावित खेल ७ ओभरमा छोट्याइएको थियो। नेपालले ५ विकेट गुमाउँदै ५० रन बनायो। तर डर्कवर्थ लेविसका आधारमा चीनले ७ ओभरमा मात्र ४३ रनको लक्ष्य पायो।
नेपाली बलरहरुले संघर्ष गरे पनि इनिङ्सको अन्तिम बलमा चीनले चौका प्रहार गर्दै लक्ष्य भेट्टायो। अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा सीता राना मगरले ५ बलमा कसिलो बलिङ गर्दै एक विकेटसहित ५ रन दिएकी थिइन्। अन्तिम बलमा चाई युझीले चौका प्रहार गरेपछि चीन एसियन गेम्समा छनोट भयो । नेपालको यात्रा समाप्त भयो।







२२ जेठ , २,०८३