नोटिफाई नेपालLoading...



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालको कडा आलोचना गर्दै सरकारको अवस्था ‘उम्लिएको दूध’ जस्तै अस्थिर र होस–हवासविहीन रहेको टिप्पणी गरेका छन्।
बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। उनले पत्रकारहरूले सरकारको १०० दिनको मूल्यांकनबारे बारम्बार प्रश्न गर्ने गरेको उल्लेख गर्दै त्यसको जवाफ जनताले नै दिइरहेको बताए।
ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोइरहेका र विस्थापित भएका दृश्य सञ्चारमाध्यममै सार्वजनिक भइरहेको उल्लेख गर्दै सरकार संवेदनशील बन्न नसकेको आरोप लगाए।
‘पत्रकार साथीहरूले १०० दिनको सरकार कस्तो लाग्यो भनेर सोध्नुहुन्छ। तपाईंहरूले नै सुकुम्बासीका तस्बिर छाप्नुभएको छ, बालबालिका धरधरी रोएका दृश्य देखाउनुभएको छ, बस्तीमा डोजर चलेका समाचार प्रसारण गर्नुभएको छ। अहिले नेपालमा खुसी हुने ठाउँ नै छैन। केही समय खुसी हुन अन्तर्राष्ट्रिय फुटबल खेल हेर्नुपर्ने अवस्था आएको छ,’ उनले भने।
सरकारको अवस्थालाई उदाहरणसहित व्याख्या गर्दै ओलीले उम्लिएको दूधसँग तुलना गरे। उनका अनुसार दुई माना दूधलाई एक पाथी अट्ने भाँडामा तताउँदा दूध उम्लिएर भाँडा भरिएजस्तो देखिए पनि त्यो वास्तविक रूपमा भरिएको अवस्था नभई अस्थायी उफ्रिएको अवस्था मात्र हो।
‘अहिले यो सरकार कहाँ ठेगानमा छ ? यसको खुट्टा कहाँ भुइँमा छन् ? दूध भाँडाको पिँधमा छैन, उम्लिएर माथि पुगेको छ। थोरै दूध भए पनि उम्लिँदा भाँडा भरिएजस्तो देखिन्छ। अहिले सरकारको अवस्था पनि त्यस्तै हो,’ ओलीले भने।
उनले सरकारका १०० दिनका गतिविधि पनि ‘उम्लिएको’ अवस्थाजस्तै देखिएको दाबी गरे।
यसै क्रममा अध्यक्ष ओलीले ‘एमाले सकियो’ भन्ने टिप्पणीप्रति पनि आपत्ति जनाए। एमाले कुनै हालतमा समाप्त हुने पार्टी नभई देश निर्माण, विकास र सफलताका लागि स्थापित भएको राजनीतिक शक्ति भएको उनको भनाइ थियो।
‘कतिपयले एमाले सकियो भन्छन्। एमाले सकिन जन्मेको पार्टी होइन, बढ्न, सफल हुन र देश बनाउन जन्मिएको पार्टी हो,’ उनले भने।
ओलीले एमाले कठिन परिस्थितिमा पनि विचलित नहुने पार्टी भएको उल्लेख गर्दै ‘एमाले न आत्तिन्छ, न मात्तिन्छ’ भन्दै कार्यकर्तालाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।








३२ असार , २,०८३