नोटिफाई नेपालLoading...



विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धानका लागि म्याद थपको आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टका हकमा पाँचौँ पटक र अग्रवालका हकमा छैटौँ पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।
विभागले दुवै व्यवसायीलाई थुनामै राखी अनुसन्धान भइरहेको र हालै ऐनमा भएको संशोधन अनुरूप सरकारी वकिल तोक्ने तथा राय प्रतिवेदन तयार गरी अभियोजन गर्ने कार्य बाँकी रहेकाले म्याद थपको माग गरेको थियो।
गत वैशाख १८ गते जारी भएको नयाँ अध्यादेशले अभियोजन गर्ने निकाय र मुद्दा हेर्ने अदालतको क्षेत्राधिकार हेरफेर गरेपछि अनुसन्धान प्रक्रियामा थप समय आवश्यक परेको विभागको जिकिर छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ को उपदफा (४) बमोजिम अदालतले यो म्याद थप गरेको हो। इजलासले मिसिल र संलग्न कागजातहरूको अध्ययन गरी अनुसन्धान तहकिकातका लागि समय पर्याप्त नभएको भन्दै विभागको माग बमोजिम समय उपलब्ध गराएको हो।
भट्ट र अग्रवाललाई विभागले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र सो सम्पत्ति शुद्धीकरण गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। यसअघि विभागले २० दिनको म्याद माग गरे पनि अदालतले १२ दिनको मात्र अनुमति दिएको हो।








२५ बैशाख , २,०८३