नोटिफाई नेपालLoading...



युरोपियन च्याम्पियन स्पेन फिफा विश्वकपमा १६ वर्षदेखि नकआउट जितको प्रतीक्षा अन्त्य गर्ने लक्ष्यसहित अस्ट्रियाविरुद्ध मैदान उत्रने भएको छ।
फिफा विश्वकपको अन्तिम ३२ अन्तर्गत लस एन्जलस स्टेडियममा हुने यस खेलमा स्पेन स्पष्ट रूपमा बलियो दाबेदार मानिए पनि यस संस्करणका अप्रत्याशित नतिजाले अस्ट्रियालाई पनि आत्मविश्वासी बनाएको छ। यस खेल बिहीबार मध्य राित हुनेछ। स्पेन समूह ‘एच’ को विजेताका रूपमा नकआउट चरणमा पुगेको हो।
अन्तिम समूह खेलमा एलेक्स बाएनाको निर्णायक गोलमा उरुग्वेलाई १–० ले हराउँदै स्पेनले शीर्ष स्थान सुरक्षित गरेको थियो। साउदी अरेबियामाथि ४–० को प्रभावशाली जित निकाले पनि केप भर्डेसँग गोलरहित बराबरीको नतिजापछि स्पेनको प्रदर्शनलाई लिएर पनि अनेक चर्चा भए। दुई वर्षअघि युरोपियन च्याम्पियन बन्दा देखाएको लय स्पेनले अझै पूर्ण रूपमा दोहोर्याउन सकेको छैन।
समूहचरणमा सामान्य कमजोरी सच्याउने अवसर भए पनि नकआउट चरणमा एउटा गल्तीले नै विश्वकपबाट बाहिरिनुपर्ने अवस्था आउनेछ। त्यसैले पनि प्रशिक्षक लुइस दे ला फुएन्तेको टोलीमाथि दबाब पक्कै हुनेछ। पछिल्लोपटक स्पेनले विश्वकपको नकआउट खेल सन् २०१० को फाइनलमा जितेको थियो। त्यस बेला एन्ड्रेस इनिएस्टाको अतिरिक्त समयको गोलमा नेदरल्यान्ड्सलाई १–० ले हराउँदै स्पेन पहिलोपल्ट विश्व च्याम्पियन बनेको हो। त्यसयता भने स्पेनले विश्वकपको कुनै पनि नकआउट खेल जित्न सकेको छैन। सन् २०१८ मा आयोजक रुससँग र २०२२ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपबाट बाहिरिएपछि यसपटक त्यो निराशाजनक शृंखला अन्त्य गर्ने लक्ष्यमा स्पेन रहेको छ। युरोपेली टोलीविरुद्ध नकआउट चरणमा स्पेनको प्रदर्शन पनि पछिल्ला वर्षहरूमा प्रभावशाली छैन।

पछिल्ला सात विश्वकप नकआउट खेलमा युरोपेली प्रतिद्वन्द्वीविरुद्ध स्पेनले एक गोल मात्र गर्न सकेको छ। त्यो पनि सन् २०१८ मा रूससँग १–१ को बराबरी खेल्दा आएको थियो। यद्यपि रक्षापंक्तिमा भने स्पेन मजबुत देखिएको छ। टोलीले विश्वकपका लगातार चार खेलमा कुनै गोल खाएको छैन। यो सन् २०१० मा उपाधि जित्ने क्रममा बनाएको उत्कृष्ट रक्षात्मक कीर्तिमानसँग बराबरी हो।
यता अस्ट्रिया भने लामो अन्तरालपछि विश्वकपको नकआउट चरणमा पुगेको छ। सन् १९५४ पछि पहिलोपल्ट यो चरणमा पुगेको अस्ट्रिया इतिहास दोहोर्याउने लक्ष्यमा छ। सन् १९५४ को विश्वकपमा अस्ट्रियाले स्विट्जरल्यान्डलाई ७–५ ले हराएको थियो। त्यो खेल आजसम्म पनि पुरुष विश्वकप इतिहासकै सर्वाधिक गोल भएको खेलका रूपमा चिनिन्छ।
त्यही विश्वकपमा अस्ट्रिया तेस्रो भएको हो। राल्फ राङनिकको टोली यस पटक पनि अर्को ठूलो उलटपुलट गर्ने आशामा छ। यस विश्वकपमा पाराग्वेले जर्मनीलाई र मोरक्कोले नेदरल्यान्ड्सलाई नकआउट चरणबाट बाहिर पठाइसकेका छन्। अस्ट्रिया पनि स्पेनविरुद्ध त्यस्तै नतिजा निकाल्न सक्ने विश्वासमा छ तर अस्ट्रियाको सबैभन्दा ठूलो चिन्ता भने रक्षापंक्ति हो। टोलीले सन् १९८२ मा अल्जेरियालाई २–० ले हराएपछि विश्वकपमा लगातार १२ खेलसम्म क्लिनसिट राख्न सकेको छैन। स्पेनजस्तो आक्रामक टोलीविरुद्ध त्यो कमजोर पक्ष सुधार्नु उसका लागि अत्यावश्यक हुनेछ। दुवै टोलीबिच भएका पछिल्ला पाँच भेटमा स्पेन अपराजित छ। तीमध्ये चार खेल जितेको छ भने एउटा बराबरीमा सकिएको छ।
पछिल्ला दुई भेटमा स्पेनले ४/४ गोलको अन्तरले जित निकालेको इतिहास छ। सन् २००९ मा भियनामा भएको पछिल्लो भेटमा स्पेन ५–१ ले विजयी भएको थियो। विश्वकपमा भने अस्ट्रियाले सन् १९७८ मा स्पेनलाई २–१ ले हराएको इतिहास पनि छ, जसले स्पेनलाई सतर्क रहन बाध्य बनाउनेछ। तथ्यांक पनि स्पेनकै पक्षमा देखिएको छ।
खेलअघि सञ्चालन गरेको २५ हजार सिमुलेसनमध्ये ९० मिनेटभित्र स्पेनले जित्ने सम्भावना ७०.६ प्रतिशत रहेको अनुमान गरेको छ। बराबरी हुने सम्भावना १७.३ प्रतिशत र अस्ट्रियाको जितको सम्भावना १२.२ प्रतिशत छ। समग्रमा नकआउट चरण पार गर्दै अन्तिम १६ मा पुग्ने सम्भावना स्पेनको ७९.५ प्रतिशत रहेको सुपर कम्प्युटरको अनुमान छ। त्यसमा अस्ट्रियाको सम्भावना २०.५ प्रतिशत देखिन्छ। तर यस विश्वकपमा लगातार अप्रत्याशित नतिजाले कुनै पनि टोलीलाई खेलअघि नै विजेता मान्न नमिल्ने संकेत दिइसकेको छ।








३२ असार , २,०८३