नोटिफाई नेपालLoading...



कर्मचारीहरूलाई तलब खुवाउने बजेट नपुगेपछि आर्थिक वर्षको अन्तिम दिन वीरगन्ज महानगरपालिकाको लेखा शाखामा तालाबन्दी गरिएको छ।
विगत दुई महिनादेखि तलब नपाएको भन्दै आक्रोशित दैनिक ज्यालादारी, करार तथा स्थायी कर्मचारीहरूले बिहीबार लेखा शाखामा तालाबन्दी गरी कार्यवाहक नगर प्रमुख इम्तियाज आलम विरुद्ध प्रदर्शन गरेका हुन्।
महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको मासिक तलब-भत्ताका लागि करिब ३ करोड ८६ लाख रुपैयाँ आवश्यक पर्छ। तर, आन्तरिक राजस्व संकलन न्यून भएपछि लेखा शाखाले स्थायी कर्मचारीहरूका लागि मात्रै जेठ महिनाको तलब भुक्तानी गर्न १ करोड ७० लाख रुपैयाँको व्यवस्था गरेको थियो।
ज्यालादारी र करारका कर्मचारीलाई बेवास्ता गरी स्थायीलाई मात्रै आंशिक तलब बाँड्न लागिएपछि कर्मचारीहरू आन्दोलित बनेका हुन्।
आन्दोलित कर्मचारी मुकेश प्रसादका अनुसार कार्यवाहक नगर प्रमुख आलमले एक महिनाको तलब निकासा गर्ने आश्वासन दिए पनि लेखा शाखामा बजेट अभावका कारण त्यो पनि अनिश्चित बनेको थियो।
अन्तिम समयसम्म पनि तलब पाउने छाँटकाँट नदेखेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनले बताए। तालाबन्दीपछि कार्यवाहक प्रमुख आलम र कर्मचारीबीच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ।
महानगरपालिकाका लेखा अधिकृत रुपनारायण राउतले उपलब्ध गराइएको सीमित बजेटबाट स्थायी कर्मचारीको मात्रै भए पनि तलब निकासा गर्न खोज्दा तालाबन्दीका कारण त्यो पनि रोकिएको बताए। तालाबन्दीका कारण महानगरपालिकाको सम्पूर्ण भुक्तानी प्रक्रिया ठप्प बनेको छ।
असार २५ गते राति १२ बजेभित्र बजेट खर्च नभए संघीय तथा प्रदेश सरकारबाट प्राप्त शिक्षा र स्वास्थ्य क्षेत्रको सशर्त अनुदान रकम फ्रिज भएर फिर्ता जाने कानुनी व्यवस्था छ।
आर्थिक वर्षको अन्तिम दिन लेखा शाखामा ताला लागेपछि महानगरपालिकाले ठूलो संघीय अनुदान गुमाउने र ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने जोखिम बढेको छ।






२८ असार , २,०८३