नोटिफाई नेपालLoading...



सरकारले १२ वर्षदेखि अड्किएको ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन निर्माणको बाटो खुलाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाली नागरिकका लागि विद्युत लाइफलाइनको रूपमा रहेको ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन निर्माणमा लामो समयदेखि देखा परेका अवरोध मन्त्रिपरिषद्बाट हटाएका हुन्।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त प्रसारण लाइन विस्तारमा बाधक बनेको वनको जग्गालाई प्रयोग गर्न दिने निर्णय गरेसँगै अब ठूलो क्षमताको प्रसारण लाइन बन्ने र झ्याप झ्याप बत्ती जाने समस्या अन्त्य हुने मन्त्रालयले जनाएको छ।
सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले 'नेपाल विद्युत प्राधिकरणलाई हेटौंडा ढल्केबर ४०० केभी विद्युत प्रसारणलाइन आयोजनाको मकवानपुर खण्डको एलाइनमेन्ट परिवर्तनको लागि संलग्न सर्तहरूको पालना गर्ने सर्तमा वन ऐन २०७६ को दफा ४२(१) बमोजिम मकवानपुर जिल्लाको हेटौँडा १५ मा रहेको रातोमाटे सामुदायिक वन उपभोक्ता समूह र बकैया– २ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको राष्ट्रिय वनको २.२ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो जग्गामा रहेका विभिन्न प्रजातिका १२९२ गोटा रुख/पोल हटाउन स्वीकृति दिने' निर्णय गरेको हो।
यो निर्णयका लागि ऊर्जामन्त्री श्रेष्ठले मंगलबार मात्रै कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीलाई मन्त्रालयमा बोलाएर छलफलसमेत गरेका थिए। साथै प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि यो निर्णयको महत्वबारे छलफल गरेका थिए। आम नागरिकलाई सुविधा पुग्ने खालको विषय भएकाले प्रधानमन्त्री शाह पनि तत्कालै निर्णय गर्न तयार भएका थिए। साथै ऊर्जामन्त्री श्रेष्ठले प्रसारण लाइन मार्गमा बसोबास गर्ने स्थानीय बासिन्दा तथा जनप्रतिनिधिसँग पनि सम्वाद र समन्वय गरेका थिए।
नेपाल विद्युत प्राधिकरणका कायममुकाय कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले १२ वर्षदेखि रोकिराखेको ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको बताए।
'ढल्केबर-हेटौँडा ट्रान्समिसन लाइन धेरै पुरानो हो। सुनसरीको इनरुवासम्मै पुग्ने यो लाइन ३०० सय किलोमिटर हाराहारी छ। यसमा राइट अफ वे को एकदमै समस्या छ,' उनले भने, 'लामो समयदेखि वनको क्लियरेन्स पाएका थिएनौं। यो तार तान्नको लागि। अब अहिले क्याबिनेटबाट पास भयो। यो धेरै राम्रो भयो। एउटा ब्रेक थ्रु गर्यो। त्यसले गर्दा चार सय केभी लाइन हेटौँडासम्म जोड्न सकियो भने हाम्रो हाइवे तयार भयो। हेटौँडादेखि ढल्केवर हुँदै इनरुवासम्म हाम्रो ठूलो साइजको हाइवे (ट्रान्समिसन लाइन करिडोर) बन्छ।'
यो प्रसारण लाइन बनेपछि तीन हजार मेगावाटसम्म आपूर्ति हुने उनले बताए। कामु कार्यकारी निर्देशक श्रेष्ठका अनुसार काठमाडौंमा बढी भएको बिजुली त्रिशुली करिडोरमा जुन हाइड्रो पावरहरू छ, काठमाडौंमा राति खपत भएन भने हेटौँडामै आउँछ। १३२ केभीको मातातीर्थ कुलेखानी हुँदै पुरानो सर्किटबाट हेटौडा आउँछ। तर हेटौँडाबाट पूर्वतिर जान नसक्ने समस्या थियो। सानो लाइन भएर २०० मेगावाटमात्र जानसक्ने थियो। त्योभन्दा बढीको विद्युत पूर्व पठाउनै नसक्ने थियो। अब यो लाइन भयो भने २ हजार २५ सय मेगावाट जानसक्ने छ। हाइवे तयार भए पछि जति नै पावर बोकेर जान सक्ने हुन्छ।
उनले अब प्रसारण लाइन निर्माण गर्नलाई डेढ महिना लाग्ने बताए। उनका अनुसार अब १६ वटा टावर निर्माण गरिनेछ। दुईवटा एमसीए नेपाल र १४ वटा प्राधिकरणले बनाउनेछ। यो काम आगामी दुई महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ।







१ श्रावण , २,०८३