नोटिफाई नेपालLoading...



सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्स औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेकी छन्।
नेपालस्थित अमेरिकी दूतावासले आइतबार उनलाई नेपालमा स्वागत गर्दै भ्रमणका मुख्य एजेन्डा र कार्यक्रमहरूबारे आधिकारिक जानकारी गराएको हो। नेपाल बसाइका क्रममा उनले यहाँको राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रका विविध पक्षहरूसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको छ।
दूतावासका अनुसार भ्रमणका क्रममा उपविदेशमन्त्री रोजर्सले काठमाडौंमा आयोजना हुने ‘एसेन्ट समिट २०२६’ मा मुख्य मन्तव्य प्रस्तुत गर्नेछिन्। यसका साथै, उनले नेपाल सरकारका उच्च अधिकारीहरू, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरू र अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्व-सहभागी हरूसँग छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम रहेको छ। यी उच्चस्तरीय भेटघाटहरूमा उनले खुला समाज र आर्थिक समृद्धिको बलियो आधारका रूपमा अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रताको पक्षमा वकालत गर्ने जनाइएको छ।
आफ्नो कूटनीतिक व्यस्तताका बिच उपविदेशमन्त्री रोजर्सले नेपालको ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको समेत भ्रमण गर्ने तालिका रहेको छ। उनले ललितपुरस्थित ऐतिहासिक पाटन दरबार स्क्वायरका साथै अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) को सहयोगमा पुनर्निर्माण वा संरक्षण गरिएका सात वटा महत्त्वपूर्ण सम्पदा स्थलहरूको अवलोकन गर्नेछिन्।
अमेरिकी दूतावासले यो भ्रमणले नेपालको बहुमूल्य सांस्कृतिक सम्पदा संरक्षणमा अमेरिकाको दीर्घकालीन सहयोगलाई प्रस्ट पार्ने उल्लेख गरेको छ।
हेर्नुस् उनको भ्रमणबारे दूतावासले दिएको जानकारी
सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सलाई नेपालमा हार्दिक स्वागत छ!
आफ्नो भ्रमणका क्रममा उपविदेशमन्त्री रोजर्सले काठमाडौँमा आयोजित 'एसेन्ट समिट २०२६' मा मुख्य मन्तव्य प्रस्तुत गर्नुहुनेछ। साथै, उहाँले नेपाल सरकारका उच्च अधिकारीहरू, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरू र अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्व-सहभागीहरूसँग भेटघाट गर्नुहुनेछ।
सोही अवसरमा उहाँले खुला समाज र आर्थिक समृद्धिको आधारका रूपमा अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रताको वकालत गर्नुहुनेछ। साथै, उहाँले ऐतिहासिक पाटन दरबार स्क्वायर र अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोष (AFCP) अन्तर्गतका सातवटा सम्पदा स्थलहरूको भ्रमण गर्नुहुनेछ। यस भ्रमणले नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा अमेरिकाको सहयोगलाई दर्साउनुका साथै नेपाली जनजीवन, धार्मिक परम्परा र पर्यटन अर्थतन्त्रको केन्द्रमा रहेका यस्ता स्थलहरूको सुरक्षाप्रति अमेरिकी प्रतिबद्धतालाई जोड दिनेछ।






२२ जेठ , २,०८३