नोटिफाई नेपालLoading...



कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको सवारी प्रदूषण अनुगमन अभियानअन्तर्गत मापदण्ड पूरा नगरेका पाँच वटा सवारी साधनमाथि कारबाही गरिएको छ।
बिहीबार बिजुलीबजार र बबरमहल क्षेत्रमा गरिएको प्रदूषण परीक्षणका क्रममा १९ वटा सवारी साधनको उत्सर्जन परीक्षण गरिएको थियो। तीमध्ये ५ वटा सवारी साधन (२६.३२ प्रतिशत) ले तोकिएको प्रदूषण मापदण्ड पूरा गर्न नसकेको पाइएपछि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिएको वातावरण विभागले जनाएको छ।
मन्त्रालयका अनुसार वायु प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणलाई प्रभावकारी बनाउन सवारी साधनको नियमित प्रदूषण परीक्षण अभियानलाई निरन्तरता दिइनेछ। साथै, वातावरणीय मापदण्ड पालना गर्न सबै सवारीधनी तथा चालकलाई आग्रह गरिएको छ।
सरकारले वायु प्रदूषण न्यूनीकरण र जनस्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राख्दै प्रदूषण फैलाउने सवारी साधनमाथिको निगरानी तथा कारबाहीलाई थप कडाइ गर्ने जनाएको छ।