नोटिफाई नेपालLoading...



कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा कर्मचारीबीच भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनामा संलग्न एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार अस्पतालका ल्याब इन्चार्ज उमेश बजगाईंमाथि कुटपिट गरेको आरोपमा करार सेवामा कार्यरत फिजियोथेरापिस्ट अनिल तिवारीलाई पक्राउ गरिएको हो।
सिसिटिभीमा कैद भएको भिडियोमा कार्यकक्षको ढोकामा उभिएका ल्याब इन्चार्ज बजगाईंतर्फ तिवारी सरासर गएर टाउकोमा मुक्का प्रहार गरेको देखिन्छ। त्यसपछि अन्य कर्मचारीले हस्तक्षेप गरी दुवैलाई छुट्याएका थिए।
घटनापछि बजगाईंले कुटपिटमा संलग्न तिवारीमाथि कारबाहीको माग गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईसमक्ष निवेदन दिएका थिए। भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेपछि प्रहरीले तिवारीलाई पक्राउ गरेको जनाएको छ।
तिवारी २०७२ सालतिर तत्कालीन अस्पताल व्यवस्थापन समिति अध्यक्ष रतन खड्काको कार्यकालमा ज्यालादारी कर्मचारीका रूपमा फिजियोथेरापी विभागमा नियुक्त भएका थिए। पछि २०७६ सालदेखि उनी करार सेवामा कार्यरत छन्।
अस्पताल स्रोतका अनुसार केही दिनअघि ल्याबसम्बन्धी सामग्री खरिद प्रक्रियालाई लिएर ल्याब इन्चार्ज बजगाईं र तिवारीबीच विवाद भएको थियो। तिवारीले उक्त खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको आरोप लगाउँदै मेडिकल सुपरिटेन्डेन्टसमक्ष उजुरीसमेत दिएका थिए।
सोही विषयमा सोमबार भएको छलफलपछि विवाद चर्किएको बताइएको छ। छलफलपछि बजगाईं आफ्नो कार्यकक्षतर्फ गएलगत्तै तिवारीले पछ्याएर ढोकामै पुगेर कुटपिट गरेको प्रत्यक्षदर्शी कर्मचारीहरूले बताएका छन्।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।







३० असार , २,०८३