नोटिफाई नेपालLoading...



पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले नेकपा एमालेको सदस्यता नवीकरण गरिसकेको भए पनि हाल त्यसलाई ‘होल्ड’मा राखिएको बताएकी छन्। नुवाकोटमा पार्टी नेता–कार्यकर्तासँगको भेटघाटमा उनले एमालेसँग आफ्नो राजनीतिक तथा वैचारिक सम्बन्ध निरन्तर रहेको स्पष्ट पारेकी हुन्।
भण्डारीले एमालेलाई देशभक्त, राष्ट्रवादी, प्रगतिशील तथा सामाजिक न्यायका पक्षधरहरूको संगठनको रूपमा चित्रित गर्दै आफू विभिन्न रूपमा पार्टीसँग जोडिएको बताइन्।
उनले भनिन्, “एमाले देशभक्त र राष्ट्रवादीहरूको संगठन हो। प्रगतिशीलहरूको, सामाजिक न्यायका पक्षधरहरूको संगठन हो। म अनेक हिसाबले जोडिएको छु। तपाईंहरूले माने पनि नमाने पनि मैले एमालेको पार्टी सदस्यता नवीकरण गरेको छु। अहिले होल्डमा छ।”
आफू २०३७ सालमै तत्कालीन मालेको सदस्य बनेको स्मरण गर्दै उनले अहिलेको एमाले त्यही राजनीतिक यात्राको निरन्तरता भएको बताइन्। माले हुँदै एमाले बनेको इतिहास उल्लेख गर्दै उनले पार्टीको वैचारिक आधार जनताको बहुदलीय जनवाद रहेको बताइन्।
भण्डारीले जनताको बहुदलीय जनवादको श्रेय स्वर्गीय मदन भण्डारीलाई जाने बताउँदै आफू पनि नाम, विचार र पार्टीसँग स्वाभाविक रूपमा जोडिएको धारणा व्यक्त गरिन्।
उनले भनिन्, “एमालेको नामसँगसँगै जबज, जबजसँगसँगै मदन भण्डारी, र त्यससँगै अनेक हिसाबले म जोडिएको छु।”
पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको समर्थन, माया तथा एमालेको लामो संघर्षकै परिणामस्वरूप आफू दुई पटक राष्ट्रपतिको जिम्मेवारीमा पुग्न सकेको उल्लेख गरिन्।

-1766933087.jpeg)





७ जेठ , २,०८३