नोटिफाई नेपालLoading...



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू किन मौन बसेका छन् भन्दै प्रतिनिधिसभामै प्रश्न उठाएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तापक्षले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताइन्।
‘म सत्ता पक्षका माननीय सदस्यहरूलाई आग्रहपूर्वक सोध्न चाहन्छु, प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रहितअनुकूल लाग्छ भने यही सदनमा उभिएर त्यसको पक्षमा बोल्नुहोस्। यदि लाग्दैन भने प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्नुहोस्,’ उनले भनिन्।
प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा, ‘भारतले मात्र नेपालको भूमि मिचेको होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्ने कुरा प्रधानमन्त्री भएपछि थाहा पाएँ’ भन्ने अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको उक्त भनाइपछि विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्ने तथ्य प्रस्तुत गर्नुपर्ने, अन्यथा सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै आएका छन्। यद्यपि प्रधानमन्त्रीले यस विषयमा थप स्पष्टीकरण दिएका छैनन्।
ओलीले रास्वपाका सांसदहरूको मौनतामाथि प्रश्न उठाउँदै भनिन्, ‘सभामुखको सम्मानको विषयमा तपाईंहरू तत्काल नियमापत्ति गर्नुभयो। तर, राष्ट्रको सीमा र सार्वभौमिकतासँग जोडिएको विषयमा तपाईंहरूको मौनता पनि एउटा राजनीतिक अभिव्यक्ति हो। तीन करोड नेपाली जनताले यसलाई कसरी बुझ्ने?’
उनले थप भनिन्, ‘हिजो सत्ता पक्षकै एक सांसदले इतिहासले प्रतिपक्षलाई हेर्नेछ भन्नुभएको थियो। आज म त्यही प्रश्न सत्ता पक्षलाई फर्काउन चाहन्छु। प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि प्रश्न उठाउँदा तपाईंहरू किन मौन हुनुहुन्छ? राष्ट्रको विषयमा तपाईंहरूको आवाज किन सुनिँदैन?’
नेताप्रतिको निष्ठाभन्दा राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हित माथि हुनुपर्ने उल्लेख गर्दै ओलीले इतिहासले प्रतिपक्ष मात्र होइन, सत्ता पक्षले कहिले बोलेको र कहिले मौन बसेको भन्ने पनि अभिलेखमा राख्ने बताइन्।
उनले चेतावनी दिँदै भनिन्, ‘आज तपाईंहरूको मौनता पनि इतिहासमा दर्ज हुँदैछ। भोलि इतिहासले प्रतिपक्षलाई मात्र होइन, राष्ट्रको प्रश्नमा मौन बसेका सत्ता पक्षलाई पनि कठघरामा उभ्याउनेछ।’
भिडियो हेर्नुहोस्








३२ असार , २,०८३