
हालै बनेको नेपालको नयाँ जनसंख्या रणनीति जनसांख्यिक लाभांश र प्रजनन दर केन्द्रित हुने गरी बनेको सरोकारवालाले जनाएका छन्। यो नीति साउन २३ गते संघीय संसदबाट पारित भएको हो। उक्त नीति शुक्रबार विश्व जनसंख्या दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ। नीति सातै प्रदेशमा छलफल गरी बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जनसंख्या नीति अघिल्लो नीतिको तुलनामा भिन्न रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनसंख्या महाशाखाका प्रमुख ढुण्डी निरौलाले बताए। २०७१ मा बनेको जनसंख्या नीतिले प्रजनन दर घटाउने विषयमा जोड दिएको थियो भने अहिलको नीतिले प्रजनन दरमा दम्पतीलाई नै स्वायत्तता प्रदान गरेको उनले जानकारी गराए।
‘पहिला प्रजनन नियन्त्रणकारी थियो, अहिले प्रजनन प्रोत्साहनमुखी छ,’ प्रमुख निरौलाले भने। पहिला एकात्मक सरकारको ढाँचामा नीति रहेकोमा अहिले तीनै तहलाई मिल्ने गरी नीति बनेको निरौलाले बताए। यसको साथै पहिला देशैभरि सरकारले जनसंख्या नियन्त्रण गर्ने गरी कार्यक्रम गरेको थियो। अब यो कार्यक्रमको विपरीत कार्ययोजना बन्ने देखिएको उनले जानकारी दिए।
नीतिले हाल नेपालमा देखिएको जनसांख्यिक लाभांशको चुनौतीलाई सम्बोधन गर्ने गरी बनेको प्रमुख निरौलाको दाबी छ। ज्येष्ठ नागरिकको सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने गरी यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नीति देखिएको जनसांख्यिकीय चुनौतीलाई समाधान गर्न यो नीतिलाई मार्गदर्शनका रूपमा अंगीकार गर्न थालेका छन्।
यसको साथै अबको शिक्षा समेत जनसांख्यिक लाभ हुने गरी समावेश गर्ने नीतिले समेटेको उनले बताए। त्यसैगरी जनसंख्या बसाइ–सराइ अनुसारको विकास कार्यक्रम बन्ने गरी समावेश भएको छ। ‘कुनै ठाउँमा जनसंख्या छैन, विद्यालय छ, यी विकास कार्यक्रमको आवश्यकता मिल्ने गरी जनसंख्याको सबै आयाम व्यवस्थित गरिनेछ,’ उनले भने।
‘कति जनसंख्या बसाइ सरे, कतिको जन्म भयो, कतिको मृत्यु भयो भन्ने तथ्यांक तत्कालै रेकर्ड हुने गरी राख्ने व्यवस्था हुने, यी सबै तथ्यांक अवधिक गरिनेछ,’ शर्माले भने।
यसैगरी कुल जनसंख्याको ४२ प्रतिशत युवा पुस्ताको लागि रोजगारी, सीप दिई उनीहरूबाट देशले लाभ लिने गरी जनसंख्या नीति बनेको उनको दाबी छ। अबको जनसंख्या कार्ययोजना प्रभाव विश्लेषण केन्द्रित भएर बन्ने, जनसंख्या ऐन बन्ने, मानिसको खुशीको सूचकांक समावेश भएको शर्माको दाबी छ। ‘हाल समाजमा वृद्धि हुँदै गएको नकारात्मक प्रवृत्तिलाई सकारात्मक बनाएर लैजाने गरी कार्ययोजना बन्छ,’ उनले भने।
विश्व जनसंख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ जनसंख्या नीतिले अहिलको जनसांख्यिकीय चुनौतीलाई सम्बोधन गर्ने बताए। ‘ज्येष्ठ नागरिकहरूको संख्या वृद्धि हुँदै गएकोले उनीहरूको ज्ञान, सीप र क्षमतालाई अन्तरपुस्ता सञ्चार गर्न, युवा जनसंख्याले चाहेजस्तो पारिवारिक आकार प्राप्त गर्नु आजको आवश्यकता हो,’ उनले भने। मन्त्री पौडेलले यो नीतिको कार्यान्वयनमा सबैले सबै पक्षबाट सहकार्य र समन्वय गर्ने अपेक्षा लिएको बताए।