नोटिफाई नेपालLoading...



बालबालिकाले पुराना कुरा सम्झना सक्दैनन् भन्ने बुझाइ छ तर वैज्ञानिकहरूका अनुसार उनीहरूले आफू छँदा देखे, बुझेका कुरा सम्झन सक्छन्, तिनलाई एउटा विशेष कुनामा संरक्षण गरी राख्न त सक्छन् तर ती सूचना र जानकारीलाई ठ्याक्कै तानेर ल्याउन भने नसक्ने पाइएको छ। ‘साइन्स’ जर्नलमा प्रकाशित अध्ययनअनुसार ४.२ देखि २४.९ महिनाका २६ जना शिशुलाई परीक्षण गर्दा यस कुराको खुलासा भएको हो।
दुई समूहमा विभक्त यी शिशुलाई प्रयोगका क्रममा एफएमआरआई मेसिनमा राखिएको थियो। त्यो बेला प्रत्येक दुई सेकेन्डका लागि विभिन्न तस्बिरहरू देखाइँदा तिनलाई मस्तिष्कको हिप्पोक्याम्पसमा रेकर्ड गर्न खोजिएको थियो। हिप्पोक्याम्पस मस्तिष्कको भावना, सम्झना रेकर्ड गर्ने स्वतन्त्र स्नायु प्रणालीको भाग हो।
अध्ययनमा संलग्न यल विश्वविद्यालयस्थित मनोविज्ञान विभागका प्राध्यापक डा. निक टर्क–ब्राउनका अनुसार, हिप्पोक्याम्पस मस्तिष्कको सघन भाग हो। यहाँका गतिविधिलाई एमआरआई मेसिनले रेकर्ड गर्दा पहिले देखेका तस्बिर र पछि देखेका तस्बिरको भिन्नता छुट्याउन सकेका थिए। क्यालिफोर्निया विश्वविद्यालयस्थित मनोविज्ञान विभागकी प्राध्यापक डा. सिमोना गेट्टीका अनुसार, अध्ययनमा शिशुहरूले देखाइएका तस्बिरहरू सम्झेको सङ्केत गरेका थिए।
अध्येताहरूका अनुसार, यदि कुनै शिशुले कुनै तस्बिरलाई लामो समय हेरिरह्यो भने त्यो तस्बिर उसले चिनेका रूपमा बुझिन्छ। पुरानै तस्बिर हेर्दा पनि केही समय अडिएनन् भने उनीहरूको सम्झना विकसित नभएको अध्येताहरूले बुझेका थिए। यो अध्ययनमा १२ महिनाभन्दा माथिका शिशुहरूमा सम्झना शक्ति बढी देखिएको थियो। स्मरण गर्ने प्रयास गर्दा उनीहरूको हिप्पोक्याम्पस धेरै सक्रिय भएको थियो। हिप्पोक्याम्पस सक्रिय हुनु भनेको सम्झनासम्बन्धी निर्णय र स्मृति सक्रिय हुनु रहेको वैज्ञानिकहरूको बुझाइ छ।
वैज्ञानिकहरू भन्छन्, ‘यस अध्ययनले अभिभावकहरूलाई सम्झाउन सक्छ कि वास्तवमा शिशुकाल निष्क्रिय समय होइन र शिशुहरूले धेरै सिकिरहेका हुन्छन्। दृश्य अन्वेषणको अवसरहरू प्रदान गर्ने कुरा सिक्ने क्षमताहरू विकास गर्न महत्त्वपूर्ण हुन सक्छ।’
प्रस्तुति : अच्युत कोइराला








२४ बैशाख , २,०८३