नोटिफाई नेपालLoading...



नेपालका प्रख्यात गिटारिस्ट तथा संगितकार हरि महर्जनको नेतृत्वमा सिड्नीमा ‘कल्चर इन सिंक’ ‘संस्कृति संनाद’ कन्सर्ट आयोजना हुने भएको छ। आगामी १९ जुनमा ओपेरा हाउसको स्टुडियोमा पहिलो नेपाली ब्यान्डले प्रदर्शन गर्दै इतिहास रच्ने छ।
संगम प्रोडक्सनद्वारा आयोजित यो कन्सर्ट निर्देशक निर्वाण बिष्ट र उद्यमी गजेन्द्र शाहीको सहकार्यमा हुन लागेको हो। यो कार्यक्रमले नेपाली समुदायको सांस्कृतिक गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
यसअघि कन्सर्ट पहिलो पटक काठमाडौँको लर्ड अफ द ड्रिङ्क्समा प्रस्तुत गरिएको थियो। संस्कृति संनाद ले नेवा ड्रमिङ परम्परा, ज्याज संगितको स्वच्छन्दता, प्रत्यक्ष पुलुकिसी नृत्य र नेवार सम्पदाको दृश्यात्मक कथावस्तुलाई एकसाथ दर्शकसामु ल्याउँछ।
हरि महर्जनले यो कन्सर्टलाई आफ्नो जीवनको महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएका छन्। उनले भनेका छन्, ‘नेवा सम्पदालाई सिड्नी ओपेरा हाउसजस्तो विश्वप्रसिद्ध मञ्चमा प्रस्तुत गर्नु मेरो वर्षौंदेखिको सपना थियो। यो मञ्चले विश्वका उत्कृष्ट कलाकारहरूलाई स्वागत गरेको छ, र यहाँ हाम्रो संगित गुञ्जनु हरेक नेपालीका लागि गर्वको क्षण हो।’
संगम प्रोडक्सन्सका सहसंस्थापक गजेन्द्र शाहीले भने, ‘काठमाडौँमा भएको पहिलो संस्कृति संनाद कन्सर्टको भीडमा उभिँदा मैले यो धुन सिड्नी ओपेरा हाउसमा गुञ्जिएको कल्पना गरेको थिएँ। आज त्यो सपना वास्तविक भएको छ, र यसले नेपाली उद्यमशीलता र सांस्कृतिक समर्पणले विश्व मञ्चमा के हासिल गर्न सक्छ भन्ने देखाउँछ।’
प्रोडक्सन्सका अर्का सहसंस्थापक निर्वाण बिष्टले यो कन्सर्टलाई व्यक्तिगत र सांस्कृतिक महत्त्वको रूपमा हेरेका छन्। उनले भने, ‘हरि दाइ मेरो पहिलो संगित गुरु हुनुहुन्छ। उहाँसँग सिड्नी ओपेरा हाउसको मञ्च साझा गर्नु मेरो लागि निकै विशेष छ। संस्कृति संनाद ले हाम्रो परम्परालाई नयाँ पुस्तामार्फत विश्वसामु प्रस्तुत गर्ने अवसर हो।’
सिड्नीमा बस्ने निर्वाणले नेपाली लोक संगितलाई ज्याज र समकालीन शैलीसँग जोडेर नयाँ स्वरूप दिएका छन्। १९ जुन २०२५, बेलुका ओपेरा हाउस, स्टुडियोमा हुने कन्सर्टमा हरि महर्जन (गिटार), निर्वाण बिष्ट (गिटार), सविन घिसिङ (बाँसुरी), उत्पल कण्डेल (धिमे ड्रम), चार धिमे वादक, तीन पुलुकिसी सञ्चालकसहित कलाकार रहनेछन्।









![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३