नोटिफाई नेपालLoading...



चन्द्रागिरि नगरपालिकाले दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजनिक गरेको छ।
नगरप्रमुख घनश्याम गिरीले यो प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत गरिसकेका छन्। नगरपालिकाले दिगो विकास लक्ष्यमध्ये राम्रो स्वास्थ्य र समृद्धि, समावेशी र समान गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ खानेपानी, सरसफाइ र दिगो शहर तथा समुदायलाई प्राथमिकता दिएको छ।
यी लक्ष्य हासिल गर्न नगरपालिकाको नीति र कार्यक्रमले सही दिशा लिएको छ। नगरपालिकाले दिगो विकास लक्ष्यसँग जोडिएको बजेट सङ्केतनको अभ्यास पनि सुरु गरेको छ, जुन एशिया प्रशान्त क्षेत्रमा नवप्रवर्तनकारी मानिएको छ।
नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर र युएन ह्याबिट्याटकी प्रतिनिधि प्रज्ञा प्रधानले प्रतिवेदन र कार्ययोजना ढाँचा सार्वजनिक गरे।
नगरप्रमुख गिरीले भने, ‘मैले चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत गरिसकेको छु। पाँचवटा क्षेत्रमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ। लक्ष्य प्राप्तिका लागि नीति, कार्यक्रम र बजेट केन्द्रित छन्।’
प्रमुख प्रशासकीय अधिकृत मगरले दिगो विकास लक्ष्य हासिल गर्न नगरका नीति, कार्यक्रम र बजेट केन्द्रित रहेको बताए। युएन ह्याबिट्याटकी प्रतिनिधि प्रधानले प्रतिवेदनको महत्त्वबारे जानकारी दिइन्।
कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरूको उपस्थिति थियो। कार्ययोजना ढाँचाबारे पनि प्रस्तुति गरिएको थियो। रासस








२४ बैशाख , २,०८३