नोटिफाई नेपालLoading...



साबिक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सलाई २–१ गोलले पराजित गर्दै उपाधि उचालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा ललितपुर विजयी बनेको हो।
ललितपुरका लागि इमो इजिकेलले पहिलो गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ४१ औं मिनेटमा मनोज राईले दिएको क्रसलाई पोखराका गोलकिपर प्रिसोले रोक्ने प्रयास गरेका थिए। तर, सही जजमेन्ट गर्न नसक्दा इजिकेलले सिक्स यार्ड बक्स नजिकबाट हेडरमार्फत जाली चुमाएका थिए।
६२औं मिनेटमा पोखराका सुदील राईले बराबरी गोल फर्काएका थिए। स्टेफन समीर बिनोङले हेडमार्फत गरेको प्रहारलाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले पहिलो प्रहारमा जोगाउन सफल भए पनि रिबाउन्डमा आएको बललाई सुदीलले सहजै गोलमा परिणत गरेका थिए।
तर, ७४औं मिनेटमा ललितपुरले पुनः अग्रता लिँदै खेल आफ्नो पक्षमा पारेको हो। इजिकेलले पेनाल्टी क्षेत्र नजिक दिएको पासलाई पापा इबु केबले नियन्त्रणमा लिँदै पोखराका दुई डिफेन्डरबीचबाट जाली चुमाएका थिए।
दशरथ रंगशालामा हजारौं दर्शकहरूको उपस्थितिमा भएको प्रतिस्पर्धात्मक फाइनलमा ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो।






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३