नोटिफाई नेपालLoading...



पहिरोका कारण घरविहीन बन्न पुगेको खोटाङको एक परिवारलाई स्थानीयले नयाँ घर बनाइदिएका छन्। बुबाको मृत्यु भइसकेको र आमा बिरामी भएकै अवस्थामा गत बर्खामा पहिरोले घर पुरेपछि छिमेकीको शरणमा बस्न बाध्य केपिलासगढी गाउँपालिका–७ सुङ्देल भिरखर्कका १७ वर्षीय क्षितिज राईलाई स्थानीयले मिलेर घर बनाइदिएका हुन्।
असार ९ गतेदेखि १२ गतेसम्म भएको भारी वर्षापछि गएको पहिरोले भिरखर्कस्थित राईको घरसँगै अन्नपात, लत्ताकपडा र भाँडाकुँडा बगाएपछि उनी घरविहीन भएका थिए। त्यसपछि पाँच सदस्यीय राई परिवार छिमेकी र आफन्तकहाँ आश्रय लिन बाध्य भएका थिए।
प्राकृतिक प्रकोपले बिचल्लीमा परेको राई परिवारलाई त्यसैबेलादेखि स्थानीयले चन्दा संकलन गरी घर बनाइदिन थालेका थिए। भर्खरै निर्माण सकिएको ढुंगा, माटो र टिनको छानासहितको एकतले घर राई परिवारलाई शुक्रबार हस्तान्तरण गरिएको हो। सुङ्देलका देवानसिंह राईले दिएको एक रोपनी १३ आना जमिनमा झन्डै नौ लाख रुपैयाँबराबरको लागतमा बनाइएको घरमा राई परिवार बस्न थालेको हो। चन्दा संकलनबाट यो रकम जुटाइएको हो।
स्थानीयले देशविदेशमा रहेका आफन्त तथा चिनजानका व्यक्तिहरूबाट संकलन गरिएको रकमबाट आवश्यक सामग्री खरिद गरी श्रमदानबाट घर बनाएर हस्तान्तरण गरिएको हो। एक कार्यक्रम गरी केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले उक्त घर हस्तान्तरण गरेको सूर्य माध्यमिक विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईले बताए।
घर बनाएर हस्तान्तरण गर्न सफल भएको चन्दा संकलन अभियानका संयोजकसमेत रहेका प्रधानाध्यापक राईले बताए। गाउँपालिका, स्थानीय बासिन्दा, हङकङ, बेलायतलगायत मुलुकमा रहेका सहयोगीहरूले स्वैच्छिक रूपमा दिएको रहम र श्रमदानबाट घर निर्माण गरिएको उनले बताए।
घर निर्माण गर्न कोयी राई समाज खोटाङले सुरु गरेको अभियानमा गाउँपालिकाले एक लाख ५० हजार, हङकङबाट हितबहादुर कोयी राईमार्फत तीन लाख ५० हजार, बेलायतबाट कृतबहादुर कोयी राईको पहलमा एक लाख ५० हजार रुपैयाँ प्राप्त भएको जानकारी प्रधानाध्यापक राईले दिए।
त्यस्तै रकम दिन नसक्ने स्थानीयले श्रमदान गरेर सहयोग गरेको सूर्य माविका शिक्षक भूपिन्द्र कोयीले बताए।
गाउँपालिका अध्यक्ष राईले घर हस्तान्तरण गर्दै विद्यालय शिक्षा अध्ययन गरिरहेका क्षितिज र उनका भाइबहिनीको पठनपाठनमा सहयोग गर्ने प्रतिबद्धता जनाए। क्षितिज १२ वर्ष हुँदा उनका बाबुको मृत्यु भएको थियो। पतिको मृत्युपछि पत्नी शारदा विस्तारै गल्दै शारीरिक र मानसिक रोगी भइन्।
बिरामी आमा, दुई बहिनी र एक भाइको हेरचाह गर्ने जिम्मेवारी क्षितिजको काँधमा आएको छ। उनकी ठुली बहिनी दीपा ७, कान्छी बहिनी निशा ५ र भाइ मुस्कान ३ कक्षमा पढ्छन्। कक्षा १० मा अध्ययनरत क्षितिजले नयाँ घर पाएपछि आमा र भाइबहिनीको हेरचाह गर्न सहज हुने बताए। उनले परिवार चलाउन भने समस्या हुने भएकाले गाउँपालिका र अन्य सरोकारवाला निकायबाट सहयोग पाउने अपेक्षा लिएको बताए।
वडाध्यक्ष तेजकुमार राईले पहिरोपीडित क्षितिज परिवारलाई दाल, चामल, नुन तेलजस्ता खाद्य सामग्री गाउँपालिकाले उपलब्ध गराउँदै आएको जानकारी दिए। क्षितिज र उनका तीन भाइबहिनाको पठनपाठन सहज बनाउन किताब, कापी, कलम र स्कुल व्यागजस्ता शैक्षिक सामग्री पनि गाउँपालिकाले उपलब्ध गराउँदै आएको वडाध्यक्ष राईले बताए।








२४ बैशाख , २,०८३