नोटिफाई नेपालLoading...



पछिल्लो समय निरन्तर घट्दै गएको अण्डाको मूल्य विस्तारै बढ्न थालेको छ। लागत मूल्यसमेत नपाउँदा चिन्तित किसानले मूल्यवृद्धिपछि केही राहत महसुस गरेका छन्।
गत वर्ष प्रतिक्रेट (३० गोटा) ५२५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर ३५० रुपैयाँमा झरेको थियो। अहिले मूल्य बढेर ४५० रुपैयाँ पुगेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) ४३० रुपैयाँ, मध्यमको ३८० रुपैयाँ र ‘एक्सएल’ को ४५० रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डाको मूल्य ३५० रुपैयाँमा झरेको थियो। सङ्घको शनिबारको छलफलले मूल्यवृद्धिको निर्णय गरेको उनले बताए।
एक्सएल अण्डाको फार्म मूल्य प्रतिपेटी (सात क्रेट) ३१४० रुपैयाँ, ठूलो अण्डाको ३००० रुपैयाँ र मध्यमको २६५० रुपैयाँ कायम गरिएको छ। यसले किसानलाई केही राहत मिल्ने उनको भनाइ छ। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ छ। अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी ३६७५ रुपैयाँसम्म पुगेको थियो।
त्यतिबेला किसानले उत्पादन मूल्य पाए पनि पछिल्लो समय मूल्य घट्दा लागत मूल्यसमेत नपाएको पोखरेलले बताए। उनले भने, ‘गर्मीले अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले मूल्य बढेको हो।’ उच्च गर्मीले कुखुरामा विभिन्न रोग देखिँदा उत्पादन घटेको छ।
सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ। ‘अहिलेको अवस्था हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ,’ उनले भने, ‘मूल्य बढेपछि किसान उत्साहित छन्। अहिले दैनिक ३० लाख गोटा हाराहारी अण्डा उत्पादन भइरहेको छ।’ नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाउँदा धेरै विस्थापित भएको उनले बताए। रासस






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३