नोटिफाई नेपालLoading...



नेपाल राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपाली क्रिकेट टोलीमा आफ्ना लागि चुनौती र अवसर दुवै रहेको बताएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपल्ट शनिबार एक कार्यक्रमका बीच प्रशिक्षक ललाई सार्वजनिक गरेको थियो। मोन्टी देसाईको स्थानमा दुई वर्षका लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षण समाल्न उनी शुक्रबार राति मात्र नेपाल आइपुगेका हुन्। पत्रकार सम्मेलनमा उनले नेपालमा आफ्ना लागि चुनौती र अवसर दुवै हुने उल्लेख गरे।
आफूले ठूलो टेस्ट टिमसँग पनि काम गरे पनि अब क्रिकेट विकासमा लाग्नुपर्छ भन्ने सोच राखेको उनले उल्लेख गरे। त्यसैले नेपालमा सबैभन्दा राम्रो अवसर पाउने बुझेर यहाँ आएको प्रशिक्षक ल बताए। उनले एसोसिएट टिमहरूमा नेपाल राम्रो टोली रहेको पनि उल्लेख गरे। तर, नेपाललाई केही पक्षहरूको आवश्यकता छ भन्ने आफूले बुझेकेको उनले बताए।
ती आवश्यक पक्षमा आफूले योगदान गर्न सक्ने उनको विश्वास छ। गत वर्ष डालसमा नेपालले अमेरिकासँग खेल्दा उनी अमेरिकी टोलीका प्रशिक्षक थिए। त्यतिबेला उनको टोली टी ट्वान्टी शृंखलामा ३–० ले पराजित भएको थियो। त्यति बेला नै नेपाली टोलीमा धेरै क्षमतावान् खेलाडी रहेछन् भन्ने आफूले थाहा पाएको उनको भनाइ छ।
साथै नेपालमा क्रिकेटप्रति धेरै प्यासन रहेको पनि आफूले थाहा पाएको उनले बताए। उनले नेपाली क्रिकेटमा नै आउनुको कारण पनि खुलाएका थिए। आफू जे कारणले क्रिकेटमा आएको र त्यो महत्त्वपूर्ण पक्ष क्रिकेटप्रतिको लगाव नेपालमा रहेको पनि उनको बुझाइ छ। तर, आफू कहिल्यै नेपाल नआएकाले यहाँको अवस्था राम्रोसँग बुझ्न नसक्दा केही चुनौती पनि हुन सक्ने उनले आशंका गरे।
ती चुनौती सामना गर्न उनी तयार पनि छन्। चुनौती सामना गरिएन भने करियरमा कहिल्यै विकास नहुने उनी बताउँछन्। उनले क्रिकेट खेलमा कहिल्यै पनि सिकेर नसकिने उल्लेख गरेका छन्। सधैं राम्रो बन्ने प्रयास गर्नुपर्ने उनले औंल्याएका छन्। त्यसैले पनि आफू चुनौती लिन नेपाल आएको उनी बताउँछन्।
नेपालमा धेरै क्षमतावान् क्रिकेटर रहेको र केही दिनमा ती ५३ जना खेलाडीहरूको प्रदर्शन देख्ने उनको विश्वास छ। अहिले क्यानले ५३ खेलाडीबाट चार टोली विभाजन गरी राखेको क्लोज क्याम्प र अभ्यास खेलप्रति उनले औंल्याउँदै यहाँबाट खेलाडीबारे जान्न मद्दत मिल्ले विश्वास व्यक्त गरेका हुन्।
यहाँबाट राम्रो र बलियो टोली बनाउन मद्दत मिल्ने उनको विश्वास छ। यहाँबाट सिनियर मात्र होइन जुनियर खेलाडी र अर्को जेनेरेसनका खेलाडी पाउने उनी बताउँछन्। अस्ट्रेलियन प्रशिक्षक लले आफ्नो र अन्य प्रशिक्षकको प्रशिक्षणशैली केही फरक रहेको पनि बताए। खेलाडीहरूले नै आफ्नो बारेमा सोचून् भन्ने उनको बुझाइ छ। जब उनीहरू मैदान खेल्न प्रवेश गर्छन्, त्यतिबेला खेलाडी आफैंले नै निर्णय लिन सकून् भन्ने चाहना रहेको उनको भनाइ छ। यतिबेला प्रशिक्षकको भूमिका पनि नरहने उनको बुझाइ छ। यसबारे उनीहरूलाई सिकाउने उनको लक्ष्य छ। उनले नेट सेसनमा खेलाडीलाई धेरै राम्रोसँग बुझ्न नसकिने तर खेल खेलिरहेको अवस्थामा उनीहरूबारे बुझ्न थप सहज हुने बताएका छन्।
त्यतिबेला उनीहरूको क्षमता मात्र होइन उनीहरूको मानसिक अवस्था र खेलप्रति खेलाडीको सचेतनाका साथै अन्य पक्षबारे बुझ्न सकिने उनी बताउँछन्। यो नै खेल जित्ने आधारहरू रहेको उनले उल्लेख गरेका छन्। त्यसैले अहिले ५३ खेलाडीहरूको क्याम्पबाट उनीहरूबारे जान्न सजिलो हुनेछ। तर, यसको मतलब आफूले यहाँबाट नै टोली छनोट नगर्ने उनले स्पष्ट पारेका छन्। प्रशिक्षक लले नेपाल आउनुभन्दा पहिले यस उपमहाद्वीपमा धेरै समय बिताएको उल्लेख गरेका छन्।






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३