नोटिफाई नेपालLoading...



जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को चैतसम्म ४१ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कुल ४१ करोड ७४ लाख ३३ हजार ४३३ रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले बताए। यो आवको नौ महिनामा चार महिनामात्र लक्ष्यअनुसार राजस्व सङ्कलन भएको छ। पाँच महिना लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको उनले बताए।
भन्सारबाट सङ्कलित राजस्व लक्ष्यको ९५.०४ प्रतिशतमात्र हो। साउनमा लक्ष्यको १११.०८ प्रतिशत अर्थात् चार करोड ९४ लाख ४१ हजार ५५५ रुपैयाँ सङ्कलन भएको थियो। भदौमा लक्ष्यको ४३.७१ प्रतिशत अर्थात् दुई करोड १३ लाख ७५ हजार ६३८ रुपैयाँमात्र राजस्व सङ्कलन भएको तथ्याङ्क छ।
असोजमा लक्ष्यको ६७.२२ प्रतिशत अर्थात् दुई करोड ८० लाख ५३ हजार ८४५ रुपैयाँ, कात्तिकमा ९०.९३ प्रतिशत अर्थात् चार करोड १८ लाख १७ हजार ६३१ रुपैयाँ, मङ्सिरमा १२४.३१ प्रतिशत अर्थात् छ करोड ७२ लाख ४९ हजार २९४ रुपैयाँ, पुसमा सबैभन्दा धेरै १२७.३७ प्रतिशत अर्थात् छ करोड ७९ लाख नौ हजार ६०१ रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ।
माघमा लक्ष्यको ११७.७५ प्रतिशत अर्थात् पाँच करोड ९३ लाख ४६ हजार ८२८ रुपैयाँ, फागुनमा ९२.५८ प्रतिशत अर्थात् चार करोड ९३ लाख २९ हजार रुपैयाँ र चैतमा ७१.७८ प्रतिशत अर्थात् तीन करोड ६५ लाख ७१ हजार ५१० रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी एवं भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले बताए। यस वर्ष तरकारी आयात गत वर्षको तुलनामा कम भएकाले राजस्व सङ्कलन लक्ष्यअनुसार नभएको उनले बताए।
भन्सारबाट प्लाइ निर्यात हुने गरेको छ भने प्लाइ उद्योगका लागि आवश्यक सामग्री, थोरै मात्रामा धान, तरकारीलगायत सामान आयात हुने गरेको छ। रासस








२४ बैशाख , २,०८३