नोटिफाई नेपालLoading...



प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राजधानीमा भइरहेका प्रदर्शन, मौलिक हकको कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण, सामाजिक सञ्जालको दर्तालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा सांसदहरूले शिक्षक, चिकित्सक, लघुवित्त र सहकारी पीडितको प्रदर्शन सम्बोधन गर्न, पहाडी क्षेत्रमा खानेपानीको अभाव अन्त्य गर्न आगामी बजेटमा विशेष व्यवस्था गर्न, सामाजिक सञ्जालको दर्ता प्रक्रियामा रहेको कानुनी व्यवधान हटाउन सरकारलाई सुझाव दिएका हुन्।
सांसद अर्जुननरसिंह केसीले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न जोड दिँदै प्रदर्शनरत शिक्षक, आवासीय चिकित्सक, स्थानीय कर्मचारी, लघुवित्त र सहकारी पीडितका समस्या समाधानमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद अम्मरबहादुर थापाले शिक्षकसँग तत्काल वार्ता र संवाद गरेर माग सम्बोधन गर्न सरकारलाई सुझाए।
सांसद कान्तिका सेजुवालले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्दै निःशुल्क र गुणस्तरीय शिक्षा पाउने विद्यार्थीको हक सुनिश्चित गर्न आग्रह गरिन्। उनले आगामी आर्थिक वर्षमा कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्न अनुरोध गरे।
सांसद गङ्गा कार्कीले सडकमा आन्दोलन गरिरहेका शिक्षक, चिकित्सक र लघुवित्त पीडितका माग पूरा गर्न सरकारसँग आग्रह गरे भने अर्का सांसद आश्माकुमारी चौधरीले जनभावना सम्बोधन हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिए। डा. अमरेशकुमार सिंहले राष्ट्र प्रमुख, सरकार प्रमुख र मन्त्रीहरूको वैदेशिक भ्रमणमा प्राप्त उपहारलाई सङ्ग्रहालयमा राख्न सुझाए।
सांसद असिम साहले सामाजिक सञ्जाल नेपालको कानुनअनुसार दर्ता भएर सञ्चालन हुनुपर्नेमा जोड दिँदै त्यस्ता कानुनमा रहेका उल्झन हटाउन सुझाए। सांसद ईश्वरबहादुर रिजालले जनताको सङ्घर्षबाट परास्त भएको राजतन्त्र नफर्कने बताउँदै पश्चगामी सोच जनताले स्वीकार नगर्ने उल्लेख गरेका छन्।
सांसद ईश्वरी घर्तीले पहाडी क्षेत्रमा पिउने पानीको अभावले नागरिकले सास्ती भोगेको जनाउँदै आगामी बजेटमा प्रत्येक वडामा ‘रिचार्ज’ पोखरी निर्माणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद उर्मिला माझीले गोरखा भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित माझी बस्तीका ५५ परिवार बैङ्कको कालोसूचीमा परेर लिलामीको अवस्थामा पुगेको बताउँदै माझी समुदायको समस्या समाधान गर्न आग्रह गरिन्।
सांसद एकनाथ ढकालले आगामी जेठ पहिलो साता काठमाडौंमा हुने सगरमाथा संवादको तयारीमा सांसदलाई परिचालन गर्न आग्रह गरे। सांसद कालुराम राईले हिउँदमा आगलागी र डढेलोले धनजनको क्षति र वातावरणीय प्रदूषण बढेको भन्दै जनचेतना फैलाउन जोड दिएका छन्।
सांसद अनिता देवीले भारतको जम्मु कश्मीरको पहलगाममा आतङ्कवादी आक्रमणमा एक नेपालीसहित दर्जनौँ पर्यटकको मृत्यु भएको घटनाको निन्दा गर्दै आतङ्कवादी गतिविधि निर्मूल पार्न विश्व समुदाय एक हुनुपर्ने बताए। सांसद किरणकुमार साहले पहलगाममा धर्मका आधारमा पर्यटकमाथि भएको आक्रमण निन्दनीय भएको उल्लेख गर्दै आतङ्कवादी गतिविधि नियन्त्रण गर्ने सरकारको रणनीति के छ भनी प्रश्न गरे।
सांसद ज्वालाकुमारी साहले जम्मु कश्मीरको पहलगाम र काठमाडौँको तीनकुनेमा भएका घटनाको भर्त्सना गर्दै यस्ता गतिविधि स्वीकार्य नहुने बताइन्। सांसद गणेश पराजुलीले पोखरा अन्तरराष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद छिरिङ डम्डुल लामाले बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिको निर्णय प्रक्रियाबारे सदनलाई जानकारी गराउन माग गरेका छन्। रासस






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३