नोटिफाई नेपालLoading...



नयाँ बानेश्वरमा विद्यालय शिक्षा ऐनको माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपमा २७ जना शिक्षक र विद्यालय कर्मचारी घाइते भएका छन्। प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेपछि २६ दिनदेखि जारी शान्तिपूर्ण आन्दोलन तनावग्रस्त बनेको हो।
नेपाल शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालले प्रहरीको नियोजित आक्रमणमा २७ जना घाइते भएको बताए।
घाइतेहरूको सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर र तिलगंगा आँखा अस्पतालमा उपचार जारी छ। केहीको अवस्था गम्भीर रहेको महासंघले जनाएको छ।
घाइते शिक्षकहरूको सूची:
घाइतेहरूमा सुवास गिरी (सिन्धुपाल्चोक), भगवान शाक्य (गोरखा), दीपबहादुर घर्ती (बर्दिया), पुण्य शर्मा (बर्दिया), कमल बहादुर बस्नेत (सिन्धुली), विकासराज झाँ (महोत्तरी), हरि प्रसाद जोशी (बझाङ), शोभाजंग केसी (बझाङ), ममता कुमारी साह (बझाङ), पुण्यमणि जोशी (कञ्चनपुर), भानुभक्त मैनाली (बाग्लुङ), विष्णु कुमारी सुवेदी (नुवाकोट), खडक मनि (कैलाली), धर्मसिंह सार्की (खोटाङ), लीलाभक्त बस्नेत (खोटाङ), देव कुमारी यादव (सिराहा), महेन्द्र साह (धनुषा), तेज बहादुर खत्री (जाजरकोट), वीरेन्द्र पण्डित (रौतहट), वेचन यादव (धनुषा), देवीशर्मा धिताल (जुम्ला), रामबहादुर शाही (जुम्ला), प्रवीण दियाली (झापा), कृष्णमाया रिजाल (झापा), शान्ता निरौला (झापा), यश गौतम (अर्घाखाँची) र कुसन कुमारी साह (रौतहट) छन्।
झडपमा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की पनि घाइते भएकी छन्। उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ। काठमाडौं उपत्यका प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहोराले २० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको बताएका छन्।








२१ बैशाख , २,०८३