नोटिफाई नेपालLoading...



जुम्लाका दुई स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना भएको छ। चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाले भगिनी सम्बन्ध कायम गरेका हुन्। दुवै स्थानीय तहका सिमाना एकअर्कासँग जोडिएकाले अधिकांश काम संयुक्त रूपमा सञ्चालन गर्न सहज होस् भनेर भगिनी सम्बन्ध स्थापित गरिएको हो।
चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत र तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले १५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध गाँसेका छन्। दुवै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र एक-एक वडाध्यक्ष साक्षी बसेर भगिनी सम्बन्ध कायम गरेका छन्।
आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत अनुभव आदानप्रदान गर्न भगिनी सम्बन्ध गाँसिएको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए। ‘साझा प्रयासबाट संस्थागत प्रणाली सुदृढ र बलियो बनाउन यो सम्बन्धले सहयोग गर्नेछ,’ उनले भने।
नगरपालिका र तातोपानी गाउँपालिकाको संस्थागत सबलता र सुदृढीकरणमा सहकार्य गर्ने, असल अभ्यास र सफल अनुभव आदानप्रदान गर्ने, स्थानीय पर्यटन प्रवर्द्धन गर्ने, प्रकृति र पर्यावरण संरक्षण गर्ने, स्थानीय सुशासनमा सहकार्य गर्ने, स्थानीय सरकारबीच साझेदारी कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादन र बजार व्यवस्थापनमा सहकार्य गर्ने सहमतिपत्रमा उल्लेख छ।
यस्तै, मानवीय गाउँपालिका बनाउने, आपसी हितका लागि अध्ययन र अवलोकन गर्ने, फोहोरमैला व्यवस्थापनमा साझा लगानी गर्ने, सिमाना विवाद क्षेत्र निर्धारण गर्ने, तिला नदीको संरक्षण गर्ने र सवारीसाधन प्रयोगमा सहलगानी गर्ने सहमतिपत्रमा छ। शिक्षा, स्वास्थ्य, खानेपानी, जलविद्युत्, यातायात, पर्यटनलगायत क्षेत्रमा दीर्घकालीन योजना बनाएर सहलगानीमा अघि बढ्ने भगिनी सम्बन्धको उद्देश्य छ।










५ जेठ , २,०८३