नोटिफाई नेपालLoading...



सन् २००७ मा ‘पलेंटी’ मा पहिलो खेप गीत सुनाएकी संगीता प्रधानले शुक्रबार र शनिबार साँझ फेरि आफ्नो एकल गायन दिएकी छन्। झण्डै दुई घण्टासम्म चलेको प्रस्तुतिमा उनले दर्जनभन्दा बढी सिर्जना प्रस्तुत गरिन्।
कार्यक्रम सुरुवात खयाल गायनबाट भएको थियो। राग ‘रागेश्री’ को विलम्बित लयमा उनी आफैंले सिर्जना गरेको बन्दिस (गीत) ‘सब सुख दियौ’ प्रस्तुत भएको थियो। एक तालबाट सुरु भएको रागले मध्यलय प्रव दर्शक, श्रोता रोमाञ्चक बनेको अनुभूति हुन्थ्यो। तीन तालमा रहेको मध्यलयको बन्दिस ‘उनी उनी रहिछौ किन हो संगिनी’ कविवर माधव घिमिरेको शब्द सिर्जना थियो।
दोस्रो चरणमा ठुमरी र दादरा प्रस्तुत भए। पहिलो ठुमरी राग ‘माझ–खमाज’ मा आधारित थियो। यसपालिको पलेंटीको मुख्य आकर्षणमा ठुमरीलाई नेपाली भाषामा गरिएको प्रस्तुति थियो। लामो समयदेखि शास्त्रीय गायनमा क्रियाशील संगीतालाई ‘ब्रजभाषा’ र हिन्दीमा मात्र होइन आफ्नै भाषामा पनि ठुमरी गाउन पाए हुने भन्ने सोच निकै वर्षदेखि लागेको रहेछ।
त्यो इच्छालाई आंशिक रूपमा भए पनि यसपालि पूरा गरेकी छन्। यसमा उनलाई पलेंटी संयोजक आभासले सहयोग गरेका छन्। आभासले माझ खमाजमा रहेको ठुमरीको बोल– ‘झर्झर बर्खा ऋतु आयो’ र राग पहाडीमा आधारित दादराका निम्ति ‘मौन बसी बित्यो रात’ लेखेका हुन्। त्यस्तै पुष्प चन्द्रिकामा प्रयोग भएको साहित्य ‘कठिन समयमा, एक मेरो घनश्याम’ गोपाल योञ्जनले हिन्दीबाट गरेको भावानुवाद रहेको थियो।
तेस्रो चरणमा भने संगीताले आफ्ना नयाँ–पुराना नेपाली आधुनिक गीतलाई प्रस्तुत गरिन्। गीति चरणको सुरुवातमा गीतकार कालीप्रासाद रिजालका दुईवटा गीत प्रस्तुत भए। पहिलो प्रस्तुतिमा ‘कुन पापीले कुन निष्ठुरीले’ थियो, जसलाई संगीतकार गुरुदेव कामतले धुन भरेका थिए। गुरुदेवले भरेको धुन नेपाली आधुनिकमा बिरलै सुनिने शैलीको गीत थियो।
‘राग माण्ड’ मा आधारित यो गीत ठुमरी शैलीको थियो। कालीप्रसादको दोस्रो रचना– ‘जाऊ फेरि मन यो मेरो दुखाएर जाऊ’ लाई संगीतकार आभासले धुन भरेका थिए। यो गीत पलेंटीबाटै प्रथमपटक सार्वजनिक भएको थियो।
त्यस्तै अर्को गीत ‘जीवन चुपचाप गुजारें त के भो? तिमीले जित्यौ म हारें त के भो?’ शान्ति ठटालको नयाँ धुन संगीताको स्वरमा गुन्जिएको थियो। शान्ति ठटालको धुनमा रत्नशमशेर थापाको सिर्जना ‘तिर्सना छचल्किन्छ’ र मञ्जित तामाङको ‘मैले प्रीत लाएँ लाएँ, लाजै नमानी लाएँ’ गाउँदा संगीताको मुहारमा आनन्दको लहर फैलिएको अनुभूत हुन्थ्यो।
कार्यक्रममा संगीताले आफू काठमाडौं आउँदाका क्षण सम्झँदै र विभिन्न संस्मरण सुनाउँदै गीत गाएकी थिएन्। त्यही क्रममा उनले संगीतकार नातिकाजीसँग आफ्ना पहिलो गुरु संगीतकार मानवीर सिंहले गराइदिएको भेट सम्झँदै ‘आँगनमा आज मेरा प्रियतम आए’ सुनाएकी थिइन्। निर्मोही व्यासको शब्द सिर्जना रहेको यो गीत संगीताले रेडियो नेपालमा गाएको पहिलो चरणको गीत हो।
कार्यक्रममा नेपथ्यका अगुवा अमृत गुरुङले धुन भरेको कवि मञ्जुलको रचना ‘एकान्तमा फूल फुल्छ कि म फुल्छु’ लाई अत्यधिक रुचाइएको थियो। फर्माइसमा दोहोरिएको यो गीत अमृतले आजभन्दा १८ वर्ष पहिले संगीताको पलेंटीका निम्ति धुन भरेका थिए।
संगीताले कार्यक्रममा आरती नेवाको शब्दमा रहेको ‘किन हो हजुरलाई आफ्नै भनिदिन मन लाग्छ’ गाउँदा संगीतकार मानवीर सिंहलाई श्रद्धापूर्वक शब्दाञ्जली अर्पण गरेकी थिइन्।
पलेंटी हेरेर बाहिरिँदै गरेका शेष नारायणको प्रतिक्रिया थियो– ‘शास्त्रीय संगीत र आधुनिकको संगम गज्जबै सुनिँदो रहेछ; पलेंटी नहुँदा न्यास्रिएका थियौं। आज त्यो नियास्रो मेटियो।’ सँगै उभिएका पंकज नेपाल भन्दै थिए, ‘नेपालीमा ठुमरी क्या गजब सुनिने रैछ।’ ‘पलेंटी’ कार्यक्रम हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयमा हुने गर्छ।







२६ जेठ , २,०८३