नोटिफाई नेपालLoading...



हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रसारण लाइन विस्तार तीव्र गतिमा अघि बढेको छ। नेपाल विद्युत् प्राधिकरणले थासाङ गाउँपालिका–२ कोवाङदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्म १०३ किलोमिटर दूरीमा ३३ केभी प्रसारण लाइन विस्तार अघि बढाएको छ।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको लोमान्थाङको कोरलानाकासम्म हाल ११ केभी विद्युत् क्षमताको प्रसारण लाइन सञ्चालनमा छ। नेपाल विद्युत् प्राधिकरणले थासाङ–२ कोवाङसम्म केन्द्रीय प्रसारण लाइनअन्तर्गत ३३ केभी प्रसारण लाइनको पहुँच पुर्याएको छ। यसलाई जिल्लाभर केन्द्रीय प्रसारण लाइनमा जोड्ने गरी ३३ केभी प्रसारण लाइनको योजना अघि बढाएको छ।
नेपाल विद्युत् प्राधिकरणको मापदण्डअनुसार एक सबस्टेशनबाट अर्को सबस्टेशनसम्म विद्युत् प्रसारण गर्न ५० किलोमिटरभन्दा बढी दूरी हुनुहुँदैन। तर कोवाङदेखि कोरलानाकासम्म करिब १५० किलोमिटर दूरीमा सिधै ११ केभीको विद्युत् प्रसारण लाइन सञ्चालनमा छ।
यसैले मुस्ताङमा पटकपटक विद्युत् आपूर्तिमा समस्या र चुनौती छ। कोवाङबाट उत्तरी क्षेत्रसम्म सञ्चालित ११ केभी प्रसारण लाइनले नागरिकले विद्युतीय समस्या झेलिरहेका छन्। ११ केभी लाइनमा कुनै एक ठाउँमा समस्या हुँदा पूरै जिल्लाको विद्युत् आपूर्ति बन्द गर्नुपर्ने बाध्यता छ।
मुस्ताङको विद्युत् प्रसारण लाइनलाई दीगो, भरपर्दो र प्रभावकारी बनाउन प्राधिकरणले ३३ केभी प्रसारण लाइनको ठेक्का लगाएको छ। कोवाङदेखि चैले र चैलेदेखि चराङसम्म दुई खण्डमा सबस्टेशन निर्माण गरी ३३ केभी प्रसारण लाइन विस्तार गर्न सन् २०२३ को जुलाईमा प्याराडाइज हुलास जेकेबी जेभीसँग २७ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको इन्जिनियर दीपककुमार मण्डलले बताए।
प्राधिकरणले ११ केभी प्रसारण लाइनलाई पूरै विस्थापन गरी ३३ केभी नयाँ प्रसारण लाइनको काम अघि बढाएको मण्डलले बताए। यो काम सन् २०२५ को जुलाईसम्म सम्पन्न गर्ने लक्ष्य छ। ठेक्कापछि प्याराडाइज हुलास जेकेबी जेभीले विद्युत् पोल गाड्न ६ फिट गहिराइको खाल्डो र पिसिसी खन्ने कामसहित ९५ प्रतिशत काम सम्पन्न गरेको मण्डलले उल्लेख गरे।
३३ केभी प्रसारण लाइन अबको छ महिनाभित्र प्राधिकरणलाई हस्तान्तरण गर्ने लक्ष्यसहित तार तान्ने काम तीव्र गतिमा भइरहेको छ। थासाङ गाउँपालिका–२ कोवाङदेखि जोमसोमसम्म २५ किलोमिटर दूरीमा तार तान्ने काम सकिएको प्याराडाइज हुलास जेभीले जनाएको छ।
‘अहिले जोमसोम र ठिनीलगायत दुई–तीन ठाउँमा विद्युत् तार तान्ने काम भइरहेको छ,’ मण्डलले भने, ‘उपल्लो मुस्ताङमा पनि मौसम अनुकूल छ, त्यहाँ अर्को टोलीलाई तार तान्ने काममा खटाउने तयारीमा छौं।’ चराङसम्म ३३ केभी प्रसारण लाइनको काम सकिएलगत्तै परीक्षण गरी प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना छ।
प्राधिकरणले ३३ केभी प्रसारण लाइन विस्तारका लागि वारागसङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड–१ चराङमा दुई सबस्टेशन निर्माण गर्न एक वर्षअघि ठेक्का आह्वान गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए। चैले र चराङमा सबस्टेशन निर्माणका लागि जग्गा व्यवस्थापन भइसकेको उनले उल्लेख गरे। रासस







२६ जेठ , २,०८३