नोटिफाई नेपालLoading...



जारी शिक्षक र चिकित्सक आन्दोलनका सन्दर्भमा पाँच विपक्षी दलका सांसदले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। विभिन्न ६ बुँदा समेटेर विपक्षी दलका सांसदहरूले सोमबार जरुरी महत्वको प्रस्ताव दर्ता गराएका हुन्।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेको प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह र जनमोर्चा नेपालको अध्यक्ष चित्रबहादुर केसी छन्।
प्रस्तावमा ‘काठमाडौं केन्द्रित शिक्षक आन्दोलनप्रति सरकारको कुनै पनि गम्भीरता नपाइएको’ उल्लेख छ। ‘विद्यालय शिक्षा जस्तो महत्त्वपूर्ण विषयप्रति सरकारको बेवास्ता गैह्रजिम्मेवारपूर्ण व्यवहारको द्योतक हो। त्यसै गरी विगत लामो समयदेखि आफ्नो पेसागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरूको आवाजलाई समेत सरकारले बेवास्ता गर्दै आइरहेको छ,’ प्रस्तावमा भनिएको छ। यसर्थ प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव छलफलका लागि प्रस्तुत गरेको उल्लेख छ।
छलफल गराउनु पर्ने कारणमा नेपाल सरकार र नेपाल शिक्षक महासङ्घसँगका बिच गरिएका सम्झौताहरू कार्यान्वयन गराउन, सार्वजनिक विद्यालयहरूलाई गुणस्तरीय बनाउन, लाखौँ विद्यार्थीहरूको पठन–पाठन सुचारु गर्न–गराउन, निर्धारित समयमा परीक्षा सञ्चालन गर्न, चिकित्सा शिक्षा आयोगले गरेको निर्णय कार्यान्वयन गराउन र स्वास्थ्य सेवालाई गुणस्तरीय र सुलभ बनाउन भनेर उल्लेख छ।







५ जेठ , २,०८३