नोटिफाई नेपालLoading...



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बर्दियाको राजापुर नगरपालिका–४ मा सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया तथा छलफल गरेका छन्।
तराई मधेस जनजागर अभियान अन्तर्गत आयोजित कार्यक्रममा दाहालले समस्याहरू सुन्दै स्थायी समाधानका लागि प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका दुबै स्थानीय तहका प्रतिनिधिहरूले संयुक्त रूपमा अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाएका थिए।
अन्तरक्रियामा सहभागीहरूले जनयुद्धको ऐतिहासिक सन्दर्भ, आफ्ना संघर्षका कथा शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने, साथै जीविकोपार्जन, बालबालिकाको पालनपोषण, शिक्षा र रोजगारीका समस्या समाधान गर्न माग गरेका थिए।
गुनासाहरू सुनेपछि अध्यक्ष दाहालले पार्टीले वर्गीय र सहिद तथा बेपत्ता परिवारसँग सम्बन्ध सुधार गर्न देशभर अभियान सञ्चालन गरिरहेको बताए। ‘‘हामी सकेसम्म सहिद तथा बेपत्ता परिवारका घरमै पुगेर दुखसुख साट्दै आएका छौँ,’’ उनले भने।
दाहालले जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउन पार्टी अडिग रहेको स्पष्ट पार्दै भने, ‘‘शान्ति प्रक्रिया नसकिन्जेल अदालतको आदेशका कारण राष्ट्रिय दिवस घोषणा रोकिएको भए पनि पार्टीको धारणा दृढ छ।’’
उनका अनुसार सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको छ र आयोग गठन प्रक्रिया अघि बढेको छ।
आयोग बनेपछि सहिद तथा बेपत्ता परिवारका नाममा पार्क निर्माण, प्रमाणपत्र वितरण र परिवारका कम्तीमा एक सदस्यलाई रोजगारी दिने व्यवस्था सुनिश्चित गरिनेछ।
साथै, सार्वजनिक यातायातमा छुटसहित गणतन्त्र सेनानीको रूपमा सम्मान दिने व्यवस्था पनि विधेयकमा समावेश गरिने बताइयो।
अध्यक्ष दाहालले बर्दिया जिल्ला राज्यद्वारा सबैभन्दा बढी व्यक्तिहरू बेपत्ता पारिएको क्षेत्र भएको उल्लेख गर्दै भने, ‘‘संयुक्त राष्ट्रसंघको रेकर्डअनुसार पनि बर्दियामा सबैभन्दा बढी बेपत्ता घटना भएका छन्।’’
कार्यक्रमको अन्त्यमा दाहालले सबै सहिद तथा बेपत्ता परिवारलाई पार्टीको विचार, नीति र मार्गनिर्देशनको पक्षमा दृढ रहन आग्रह गरे।







५ जेठ , २,०८३