नोटिफाई नेपालLoading...



उदयपुरको रौतामाई गाउँपालिका–५ ढुकुरचुङमा गएराति परेको चट्याङले आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार राति करिब १२:०० बजे वर्षासँगै परेको चट्याङले चक्रबहादुर राईको ढुङ्गा–माटोले बनेको टिनको छानो भएको दुई तले घरमा आगलागी गराएको हो।
आगलागीका कारण घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा, काठपातसहित घरसँगै रहेको बाख्राको खोर, सुंगुरको खोर र खोरभित्र रहेको एउटा सुंगुर समेत जलेर नष्ट भएको प्रहरीको भनाइ छ।
रातिको समय भएकाले प्रहरी र स्थानीयवासीलाई उद्धारका लागि घटनास्थलमा पुग्न ढिलाइ भएको र आगो बिहानसम्म आफैं नियन्त्रणमा आएको जिल्ला प्रहरी निरीक्षक धनकुमारी राईले जानकारी दिइन्।
आगलागीपछि थप अनुसन्धान र कारबाहीका लागि अस्थायी प्रहरी पोष्ट रौतापोखरीबाट प्रहरी टोली खटाइएको प्रहरी निरीक्षक राईले बताइन्।







५ जेठ , २,०८३