नोटिफाई नेपालLoading...



घाइते पत्रकार सविना कार्कीको आँखाको दृष्टिमा केही सुधार भएको तिलगंगा आँखा अस्पतालका चिकित्सकले बताएका छन् । शिक्षक आन्दोलनका क्रममा प्रहरीले हानेको पानीको फोहोराले लागेर आइतबार गम्भीर चोट लागेकी कार्कीको आँखामा सोमबार सुधार आएको हो ।
कार्कीले आइतवार आधा मिटर टाढामात्र देख्न सकेकी थिइन भने सोमबार उनको दृष्टि एक मिटर पुगेको हो । उनको उपचारमा संलग्न चिकित्सक डा.निमलामु शेर्पाले भनिन, ‘एक मीटर भन्दा टाढा देख्न सक्नु भएन’ ।
घाइते कार्कीलाई सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर हुँदै तिलगंगा आँखा प्रतिष्ठान पु¥याइएको थियो । उनको दाहिने आँखामा गम्भीर चोट लागेको छ ।
चोटको कारण आँखामा भरिएको रगत घट्दै गएपछि सोमवार केही टाढा देख्न सफल भएको तिलगंगा आँखा अस्पतालकी चिकित्सक डा. सेवान्त श्रेष्ठले बताइन । उनले भनिन, ‘आँखाको रगत केही घटेकोले एक मिटरसम्म देख्न सफल हुनु भएको देखिन्छ’ ।
चोटको कारण कार्कीको दाहिने आँखाको ढकनी च्यातिएको थियो भने भित्री आँखाको पर्दा र पर्दापछि रगत भरिएको थियो । आइतबार आँखा सफा गर्ने, च्यातिएको ढकनी सिलाउने र पर्दा सफा गरिएको छ ।
त्यसैगरी आँखाको दृष्टि जाँच गर्ने आँखाको नशा फुलाउने, रक्तचाप कम गर्ने औषधि पनि दिइएको चिकित्सकले बताएका छन् ।
सोमबार थप उपचारमा पुगेकी उनको आँखाको सिटिसक्यान गरी पर्दा च्यातिएको र नशाको चोटको अवस्था हेरिएको थियो । तर रगतले पर्दा र पर्दाको पछिल्लो भाग भरिएको हुनाले भित्री भागमा के कति चोट लागेको छ भन्ने विषयमा पत्ता लाग्न नसकेको डा.निमुलामु शेर्पाले बताइन । उनका अनुसार पर्दामा लागेको सानो भन्दा सानो चोट सिटिसक्यानवाट पनि नदेखिन सक्छ । आँखाको रगत घट्दै गएपछि पुन सिटिसक्यान गरेर हेर्नु पर्ने र कतिपय अवस्थामा लक्षणको आधारमा उपचार गर्दै जानु पर्ने स्थिति आउने उनले बताइन । यो अवस्थामा कार्कीको दृष्टिको समस्या निको हुन्छ या हुँदैन भन्ने कुराको अहिल्यै यकिन गर्न नसकिने लामाले बताइन । ‘एक सातापछि फेरी हर्छौ, लक्षण घटेन भने आँखाको पर्दा र आँखाको दृष्टि नशाको शल्यक्रिया गर्नु पर्छ’ उनले भनिन् ।
तर गम्भीर चोट लागेर दृष्टि नशामा असर परेमा दृष्टिमा सुधार आउन कठिन हुने उनले बताइन । ‘आँखाको पर्दा र दृष्टि नशामा गम्भीर चोट सुधार आउन कठिन हुन्छ,’ उनले भनिन ।







५ जेठ , २,०८३