नोटिफाई नेपालLoading...



प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट जारी भएको नयाँ संविधानकै कारण मुलुक समाजवाद उन्मुख बाटोमा अघि बढेको बताएका छन् । बिपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित ‘बिपीको समाजवाद र स्थानीय सरकार’ पुस्तक लोकार्पण गर्दै यादवले २००७ सालपछिका विभिन्न राजनीतिक परिवर्तनले देशमा ठुलो र सकारात्मक परिवर्तन आएको बताएका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र सहितको समावेशी र समानुपातिक संविधान नै वर्तमानमा मुख्य तथा सकारात्मक उपलब्धि भएको यादवले बताए । ‘सबैभन्दा पोजेटिभ कुरा गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशी र समानुपातिक संविधानमा छौं,’ उनले भने, ‘यो संविधान समाजवाद उन्मुख छ । बिपी कोइरालाको समाजवादी चिन्तनअनुरूप हामीले बाटो बिराएका छैनौं ।’
प्रत्येक नेपाली सार्वभौमसत्ता सम्पन्न मालिक भएको जनाउँदै यादवले नेपालीले संसारमा शिर उठाएको बताए । राजनीतिको आ–आफ्नै कोर्स हुने र त्यसअनुसार मुलुकमा समयअनुसार सम्झौता हुँदै आएको जनाउँदै उनले भने, ‘मुलुक बर्बाद भयो भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो गलत छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र खतरामा नरहेको बताए । तर सरकार र राजनीतिक नेतृत्वप्रति जनताको असन्तुष्टि तीव्र रहेको जनाउँदै कोइरालाले त्यसलाई भने सच्याएर अघि बढ्नुपर्ने धारणा राखे । संविधानमा भएका कमीकमजोरीलाई सुधार गरेर जानुपर्ने धारणा राख्दै उनले भने, ‘आफ्ना कमीकमजोरी सुधार नगर्ने, गणतन्त्र कमजोर भयो भनेर विश्लेषण गरेर बसेर हुँदैन ।’
शिक्षक, कर्मचारी, डाक्टर, सहकारीपीडित सबै आन्दोलनमा रहेको भन्दै नेता कोइरालाले सरकार सडकमा भइरहेका आन्दोलनलाई सम्बोधन गर्न गम्भीर नभएको गुनासो गरे । सरकारले उनीहरूका मागलाई सम्बोधन गर्नुपर्ने जनाउँदै कोइरालाले भने, ‘सरकारले आफ्नो काम नगर्ने र अरूको आलोचना मात्रै गरेर बस्ने होइन ।’
शिक्षकमाथि दमन निन्दनीय र घृणित भएको टिप्पणी गर्दै कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न भने पनि भ्रष्टाचारको नियन्त्रण र अनुसन्धान गर्ने राज्यका संयन्त्रहरू कमजोर भएको आरोप लगाए ।
कोइरालाले कांग्रेसको १५औं महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भए पनि पार्टीका पदाधिकारीको मौनताप्रति आश्चर्य प्रकट गरे । ‘कांग्रेसको भ्रातृ संस्थाहरू लथालिंग छन्, महाधिवेशनबारे नेतृत्व र पदाधिकारीहरू बोल्नुहुन्न,’ उनले भने, ‘यसरी त पार्टी पनि चल्दैन, मुलुक पनि चल्दैन ।’







५ जेठ , २,०८३