नोटिफाई नेपालLoading...



लगातारको वर्षाले मुस्ताङमा फूल लागेका स्याउका बोटमा असर पारेको छ। यसले स्याउ उत्पादन घट्ने अनुमान गरिएको छ। स्थानीय प्रजातिका स्याउका बोटमा यस वर्ष फूल कम फुलेका थिए। वर्षाका कारण फूलमा क्षति पुग्दा उत्पादनमा कमी आउने शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले बताए।
उनले भने, ‘गत वर्ष धेरै फूल फुलेर स्याउ उत्पादन बढी भएको थियो। यस वर्ष बोटमा सञ्चित ऊर्जा कम हुँदा फूल पनि कम फुले। फुलेका फूलमा हावा र पानीले क्षति पुर्यायो। स्याउका बोटमा फूल फुल्न धेरै ऊर्जा चाहिन्छ। बोटमा फूल धेरै भए पनि अर्को वर्ष फूल फुलाउन आवश्यक ऊर्जा सञ्चय गर्न सकिँदैन।’
गत वर्ष जिल्लामा स्याउ उत्पादन राम्रो भएको आत्रेयले बताए। सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ७३४ मेट्रिक टन बढी हो।
स्थानीय प्रजातिका स्याउका बोटमा फूल कम देखिए पनि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउका बोटमा भने खासै असर नपरेको आत्रेयले बताए। उनले भने, ‘हामीले कोवाङ, टुकुचे, मार्फा, स्याङ, ठिनी, जोमसोम र मुक्तिनाथका स्याउ बगैंचाको अवलोकन गर्यौं। स्थानीय प्रजातिका बोटमा फूल कम देखिए पनि हाइब्रिड स्याउमा खासै असर परेन।’ यस वर्ष स्थानीय प्रजातिको स्याउ उत्पादन कम हुने देखिए पनि हाइब्रिड स्याउमा असर नपर्ने उनको भनाइ छ।
जिल्लामा स्याउ उत्पादनका लागि मौसम प्रतिकूल भएको छ। फूल फुल्ने बेलामा निरन्तर वर्षा र कुहिरोले फल लाग्नमा बाधा पुर्याएको छ। अगौटे प्रजातिका फलफूल फूल फुलेर फल लागिसकेका छन् र तिनलाई वर्षाले असर नगरेको आत्रेयले बताए। तर, ढिलो फूल फुल्ने मध्यम प्रजातिका फलफूललाई वर्षा र कुहिरोले असर गर्ने उनले उल्लेख गरे।
फरक–फरक स्थानमा रहेका स्याउ बगैंचामा तापक्रममा उतारचढाव हुँदा कतै ढिलो फूल फुल्ने र कतै फूल फुलेर फल लागिसकेको आत्रेयले बताए। फल लागिसकेका बोटमा वर्षाले असर नगर्ने केन्द्रले जनाएको छ।
यस वर्ष स्याउ बगैंचामा फूल निकै कम फुलेकाले उत्पादन घट्ने थासाङ–१, टुकुचेका किसान सरोज तुलाचनले बताए। उनले भने, ‘स्थानीय प्रजातिका स्याउ बोटमा असर देखिए पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेतीमा कुनै असर छैन।’ रासस







५ जेठ , २,०८३