नोटिफाई नेपालLoading...



पूर्वी पहाडी भेगमा वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिवृद्धि आयोजना सञ्चालनले निरन्तरता पाउने भएको छ।
विश्व वातावरण सुविधा (जिईफ)को आर्थिक सहयोगमा पूर्वी पहाडी क्षेत्रका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम र संखुवासभाका ३४ स्थानीय तहमा यो कार्यक्रमले निरन्तरता पाउने डिभिजन वन कार्यालय ताप्लेजुङका सूचना अधिकारी परमेश्वर पासवानले जानकारी दिए। कार्यक्रम ५ जिल्लाका १ सय ८६ वडामा कार्यान्वयन हुने छ। यो कार्यक्रमले ३ लाख ५७ हजार ५ सय हेक्टर वन क्षेत्र ओगट्ने भएको छ। कार्यक्रमबाट कुल २७ हजार घरधुरी प्रत्यक्ष लाभाविन्त हुने अनुमान गरिएको छ।
विश्व वातावरण सुविधाबाट खाद्य तथा कृषि संगठनमार्फत प्राप्त हुने ४१ लाख ८७ हजार ९ सय अमेरिकी डलर अर्थात् करिब ५५ करोड रुपैयाँ आयोजनाको कुल लागत हुने छ। सन् २०२७ को अप्रिल महिनासम्म परियोजना अवधि रहेको कार्यक्रम सन् २०२३ को अप्रिलदेखि कार्यान्वयनमा आउन थालेको हो। आगामी आर्थिक वर्षमा समेत कार्यक्रमले निरन्तरता पाउने डिभिजन वन कार्यालयले जनाएको छ। अघिल्लो बर्ष ताप्लेजुङका लागि करिब १ करोड रुपैयाँ प्राप्त भएकोमा आगामी आर्थिक वर्ष २०८२।८३ मा ५ करोड हाराहारी रुपैयाँ प्राप्त हुने अनुमान सहित प्रस्तावित कार्यक्रमको तयारी भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।
जैविक विविधताले भरिपूर्ण पूर्वी नेपालको तीनजुरे–मिल्के–जलजले, माई उपत्यका र तमोर उपत्यका क्षेत्रमा कार्यक्रम केन्द्रित हुने छ। आयोजनाले कोशी प्रदेशको २६ हजार १ सय ९ दशमलव ७ वर्ग किलोमिटर क्षेत्रफलमध्ये ३ हजार ५ सय ७५ वर्गकिमी क्षेत्रफललाई ओगटेको छ। नेपालको पूर्वी पहाडी भेगमा संरक्षित क्षेत्रभन्दा बाहिर विश्वव्यापी रूपमा महत्वपूर्ण जैविक विविधता संरक्षण र दिगो जीविकोपार्जनका लागि सुधारिएको पारिस्थितिक प्रणाली सेवाहरूको प्रवाह गर्ने उद्देश्यका साथ कार्यक्रम कार्यान्वयनमा आएको हो।
परियोजना समाप्तिपछि जैविक विविधता संरक्षण, पारिस्थितिकीय प्रणाली पुनर्स्थापना तथा क्षतिग्रस्त भूमि तटस्थताका लागि अनुकूलित र साझेदारीमा भूपरिधिस्तरीय योजना तर्जुमा तथा व्यवस्थापनका लागि प्रादेशिक तथा स्थानीय सरोकारवालाको क्षमता अभिवृद्धि हुने कार्यक्रम गरिने छ। यस्तै स्थानीय, प्रादेशिक तथा राष्ट्रिय स्तरका सरोकारवालासंग वन व्यवस्थापन, भू–उपयोग र जैविक विविधता संरक्षण योजना व्यवस्थापन र कार्यान्वयनका लागि आवश्यक जानकारीमा पहुँच पुग्ने प्रकृतिका कार्यक्रम सञ्चालन हुनेछन्
यस्तै स्थानीय सरोकारवालाले जैविक विविधता र दिगो स्थानीय जीविकोपार्जनका लागि समुदायमा आधारित संरक्षण तथा दिगो उत्पादन, व्यवस्थापन र पुनर्स्थापनाका अभ्यासहरू लागू गर्ने गरी कार्यक्रम सञ्चालन गरिने छ। परियोजना कार्यान्वयनका लागि कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजना व्यवस्थापन इकाई रहेको छ भने कार्यक्रम सञ्चालन भएका ५ वटै जिल्लाका डिभिजन वन कार्यालयहरू आयोजना सहयोग इकाईको रूपमा रहने छन्।
परियोजना अन्तरगत ताप्लेजुङका फुङलिङ नगरपालिका, आठराई त्रिबेणी गाउँपालिका, मैवाखोला गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाका सम्पूर्ण वडाहरूमा कार्यक्रम सञ्चालन हुनेछ। सिदिङ्वा गाउँपालिकाको वडा नं २,३,४,५ र ६,सिरिजङ्गा गाउँपालिकाको १,२,३,४ र ५,फक्ताङलुङ र मिक्वाखोला गाउँपालिकाका वडा नं १,२ र ३ र मेरिङदेन गाउँपालिकाका वडा नं १,२,३,४ र ५ परियोजनाको कार्यक्षेत्रमा रहने छन्।







५ जेठ , २,०८३