नोटिफाई नेपालLoading...



नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पाकिस्तानसँगका सबै सैन्य पुनरावलोकन र पुनर्विचार गर्नुपर्ने भन्दै प्रस्ताव गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बजगाईँले यस्तो प्रस्ताव गरेका हुन्।
‘नेपाल–पाकिस्तान संयुक्त सैन्य अभ्यासको गम्भीर पुनरावलोकन आवश्यक छ,’ सांसद बजगाईँले भने, ‘विशेष गरी हालै पाहलगाममा भएको निर्मम आतङ्कवादी हमलाअघि पाकिस्तानी सेनापतिले दिएको उक्साहटपूर्ण भाषणको सन्दर्भमा।’
उक्त आक्रमणको जिम्मेवारी लिएको द रेसिस्टेन्स फ्रन्ट (टिआरएफ)लाई पाकिस्तानी सेनाको संरक्षणमा सञ्चालित समूहका रूपमा चिनिने उनले दाबी गरेका छन्। उनले भने, ‘यसले नेपालको पाकिस्तानसँगको वर्तमान सैन्य सम्बन्धमा गम्भीर चिन्ता उठाएको छ।’
सन् १९९९ मा भएको इन्डियन एयरलाइन्सको जहाज काठमाडौंबाट अपहरणमा परेको तथ्य बिर्सन नहुने पनि सांसद बजगाईँले भनेका छन्। ‘जसमा पाकिस्तानको खुफिया एजेन्सी आइएसआई संलग्न रहेको प्रमाणित भएको थियो,’ सांसद बजगाईँले भनेका छन्, ‘आज टिआरएफ जस्ता समूहहरू–विभिन्न जिहादी नामहरूमा सञ्चालन हुँदै क्षेत्रीय सुरक्षामा नयाँ र खतरनाक चुनौतीका रूपमा देखा परेका छन्।’ नेपालको भौगोलिक र रणनीतिक संवेदनशीलता हेर्दा हामीले लापरबाही गर्न नसक्ने पनि उनले बताए।
यसरी पृष्ठभूमि बाँधेका सांसद बजगाईँले टिआरएफलाई तुरुन्त प्रतिबन्धित आतङ्कवादी संगठन घोषणा गर्न र पाकिस्तानसँगको सबै प्रकारको सैन्य सहकार्यको पुनरावलोकन र पुनर्विचार गर्न माग गरे।
‘यस्ता आतङ्कवादी सञ्जालहरूले सार्कको आत्मा र स्थायित्वलाई कमजोर पारिरहेको यथार्थलाई औपचारिक रूपमा स्वीकार गरियोस्,’ बजगाईँले भने,‘यी चरम पन्थी समूहहरूको गतिविधि, जुन राज्यीय समर्थनमा सञ्चालित छन्, केवल क्षेत्रीय समस्या होइनन्–यिनले हाम्रो राष्ट्रिय सुरक्षा र कूटनीतिक मूल्यहरूमा प्रत्यक्ष चुनौती उत्पन्न गरेका छन्।’







५ जेठ , २,०८३