नोटिफाई नेपालLoading...



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता कश्मीरको पहलगाममा भएको घातक आतंकवादी आक्रमणको जवाफ दिन भारतीय सेनालाई ‘पूर्ण परिचालन स्वतन्त्रता’ दिएको एक वरिष्ठ सरकारी स्रोतले मंगलबार एएफपीलाई बताएकाे छ।
यता, पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले भारतले आगामी दिनमा सैन्य आक्रमण गर्न सक्ने दाबी गरेका छन्। बयानबाजीले दुई आणविक शक्ति सम्पन्न छिमेकीबीच तनाव थप चर्काएको छ।
चिसो जम्मू–कश्मीरको तातो इतिहास: भारत–पाकिस्तान बिचको अन्तहीन तनाव
स्रोतका अनुसार मंगलबार नयाँ दिल्लीमा भएको उच्चस्तरीय बैठकमा मोदीले सेना र सुरक्षा प्रमुखहरूसँग आतंकवादलाई ठूलो धक्का दिने भारतको राष्ट्रिय संकल्प रहेको बताएका हुन्। बैठकमा रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, रक्षा प्रमुख जनरल अनिल चौहान, सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, वायुसेना प्रमुख एयर चिफ मार्सल अमर प्रीत सिंह र नौसेना प्रमुख एडमिरल दिनेश के. त्रिपाठी सहभागी थिए।
मोदीले भने, ‘कश्मीरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको हाम्रो प्रतिक्रियाको अवस्था, लक्ष्य र समयबारे निर्णय गर्न सशस्त्र बललाई पूर्ण परिचालन स्वतन्त्रता छ।’ उनले भारतीय सशस्त्र बलको व्यावसायिक क्षमतामा पूर्ण विश्वास व्यक्त गर्दै सरकारको पूर्ण समर्थन रहेको बताएकाे उल्लेख छ।
पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले एक स्थानीय टेलिभिजनमा भारतले केही दिनमा हमला गर्नसक्ने दाबी गरेका छन्। त्यसअघि सोमबार इस्लामावादमा रोयटर्ससँगकाे अन्तर्वार्तामा उनले भनेका थिए, ‘हामीले हाम्रा सेनालाई सुदृढ गरेका छौँ किनभने भारतको आक्रमण अब आसन्न छ। यस अवस्थामा केही रणनीतिक निर्णयहरू लिनुपर्छ, र ती निर्णयहरू लिइसकिएको छ।’
उनले भारतीय पक्षको बयानबाजी तीव्र भएको र पाकिस्तानी सेनाले सरकारलाई भारतको सम्भावित आक्रमणबारे जानकारी दिएको बताए पनि कुन खुफिया जानकारी वा घटनाक्रमले यो निष्कर्षमा पुगेको भन्ने खुलाएनन्।
गत अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसिहत २८ जनाको ज्यान गएको थियो, जसलाई भारतले पाकिस्तानको समर्थनमा भएको आरोप लगाएको छ। इस्लामावादले यी आरोपहरू अस्वीकार गर्दै ‘निष्पक्ष र पारदर्शी छानबिन’ को माग गरेको छ। भारतले दुई सन्दिग्ध आतंककारी पाकिस्तानी नागरिक भएको दाबी गरेको छ।
त्यसयता दुवै देशले सीमामा गोली हानाहान, कूटनीतिक नाकाबन्दी, नागरिक निष्कासन र मुख्य स्थल सीमा बन्द गर्ने कार्य गरेका छन्। भारतले सिन्धु जल सन्धि निलम्बन गरेको छ भने पाकिस्तानले भारतीय उडानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।
पाकिस्तानको रक्षा मन्त्रालयले मंगलबार राति भारतीय ड्रोन खसालेको दाबी गरेको छ, जसलाई भारतले खण्डन गरेको छ। भारतीय सेनाले लाइन अफ कन्ट्रोल (एलओसी) मा पाकिस्तानी सेनाबाट ‘अकारण’ गोलीबारी भएको र त्यसको जवाफ दिइरहेको बताएको छ।
मोदीले गत बिहीबार पहलगाम आक्रमण गर्ने र समर्थन गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए। उनले भनेका थिए, ‘म विश्वलाई भन्छु, भारतले हरेक आतङ्ककारी र तिनका समर्थकको पहिचान गर्नेछ, ट्र्याक गर्नेछ र सजाय दिनेछ। हामी तिनीहरूलाई पृथ्वीको अन्तसम्म खेद्नेछौँ।’
भारतीय प्रहरीले संयुक्त राष्ट्रसंघद्वारा घोषित आतंकवादी सङ्गठन लश्कर–ए–तैयबाका सदस्य रहेका दुई पाकिस्तानी र एक भारतीय गरी तीन जनालाई ‘अधिक खोजीको सूची’ मा राखेको छ। काश्मिरमा ठूलो सङ्ख्यामा सैन्य कारबाही र आतंककारीको खोजी कार्य जारी छ।
पाकिस्तानका सञ्चारमन्त्री अत्ताउल्लाह तारारले बुधबार सामाजिक सञ्जाल एक्समा, ‘पाकिस्तानसँग विश्वसनीय खुफिया जानकारी छ कि भारतले पहलगाम घटनालाई झुटो बहानामा प्रयोग गरी आगामी २४ देखि ३६ घण्टाभित्र सैन्य आक्रमण गर्न सक्छ। कुनै पनि आक्रामक कार्यको निर्णायक जवाफ दिइनेछ’ भनेर लेखेका छन्। एजेन्सी







२६ जेठ , २,०८३