नोटिफाई नेपालLoading...



उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निस्वार्थ सेवा भाव र समाजको हित नै राजनीतिको धर्म भएको बताएका छन्।
बुधबार स्याङ्जामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै उनले राजनीतिमा सेवा भावले काम गर्नुनै राजनीतिको धर्म भएको उल्लेख गरे।
मानव समाजलाई सुव्यवस्थित अगाडी बढाउन कानून नभएका बेला धर्मले गर्न हुने र नहुने भनेका कुरालाई नै मानिसहरुले कानूनका रुपमा पालना गरेर समाज अहिलेको अवस्थामा आइपुगेकाले धर्मको महत्व विशिष्ट रहेको चर्चा गरे।
‘समाजलाई अगाडी बढाउने क्रममा धर्मसँग हामी संलग्न छौं। धर्मले गर्न हुने र नहुने कामलाई मानिस आफैले छुट्याएर समाजलाई राम्रो हुने काममा अघि बढ्न सिकाएको छ,’ उनले सुनाए,‘ धर्ममा लागू हुने नीति र जुन मान्यता छ। त्यो समाजको हरेक अरु पक्षमा पनि लागू हुन्छ। व्यापारमा पनि धर्म हुन्छ। उद्योगपतिको नि धर्म हुन्छ। विभिन्न व्यवसायमा लागेकाहरुको पनि धर्म हुन्छ। राजनीति गर्नेहरुको पनि धर्म हुन्छ। समाजलाई हित हुने काम हामीले गर्नुपर्छ। सेवाभाव र समाजको हित हुने काम गर्नुनै राजनीतिको धर्म हो।’
उनले भक्तजनका लागि धर्मशाला बनाउने उद्धेश्यले महायज्ञ लगाइएको भन्दै शहरी विकास मन्त्रालयले गर्न सक्ने काम गर्ने प्रतिवद्धता पनि जनाए।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले स्याङ्जा पुग्दा ०४२ सालमा सत्याग्रहको प्रचार प्रसारका लागि आइपुगेको सन्दर्भ स्मरण गराएको पनि बताए।
पार्टी प्रतिबन्धित रहेका बेला ०४२ सालभन्दा अगाडी सत्याग्रहको तयारीका बेला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवासहित गोपालमान श्रेष्ठको घरमा पार्टी अधिवेशन र सत्याग्रहको तयारीका लागि पुगेको भन्दै पुरानो दिनको सम्झना गरे।
उनले महायज्ञ सफलताको शुभकामना दिँदै स्याङ्जाको पूर्वाधार विकासमा सबै जनप्रतिनिधिसँग सल्लाह गरेर गर्नुपर्ने काम गर्ने पनि जिकिर गरे।







२६ जेठ , २,०८३