नोटिफाई नेपालLoading...



घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुन्। समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन्।
उनले भनिन्, “नौ कट्ठा जमिन भाडामा ल्याएर आलु र प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुई वटा टनेल बनाएर खेती गरेका छौँ, कृषि ज्ञान केन्द्र दाङले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ ।” सोही कार्यालयले २० जनालाइ रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको उनले बताइन्।
“समूहमा आबद्ध भएपछि सरकारी कार्यालयमा के के कार्यक्रम आउछन्, त्यसका बारेमा जानकारी हुने गरेको छ”, उनले भनिन्। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङले बङ्गुरपालनका लागि खोर बनाउन रु १० लाख बजेट सहयोग गरेको उनले बताइन्।
जनचेतना महिला कृषक समूहका अध्यक्ष देउकुमारी चौधरीले वित्तिय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउन जानेको बताइन्। उनले भनिन्, “सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।”
घोराही–१२ का नन्दा योगीले मौरीपालन तालिम लिएर मौरी पाल्न सुरु गरेकी छिन्। मुक्त कमलरी विकास मञ्च र सोसेक नेपालले तालिमसँगै पाँच घार मौरी दिएको थियो । मौरीपालन तालिमपछि व्यावसायिक रुपमा पालन सुरु गरेको उनले बताइन्। अहिले उनीसँग १० घार मौरी छन् । उनका अनुसार करिब ८६ किलो मह उत्पादन भएको र सबै बिक्री भएको थियो । रु ५०० देखि रु ६०० प्रतिकिलोमा बिक्री गरेको उनले बताइन्। गाईबस्तु पालेकोभन्दा सजिलो हुने भएर यो काम राम्रो लागेको उनले बताइन्। उनका अनुसार तालिमपछि क्षमता विकास र वित्तीय साक्षरता पनि भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१६ टिक्रालहलौराकी उर्मिला चौधरी पूर्वकमलरी हुन्। उनी प्रगति पशुपालन महिला समूहको अध्यक्ष बनेकी छिन्। समूहमा आबद्ध भएपछि उनले च्याउखेतीको तालिम लिइन्। उनले समूहमा आबद्ध भएपछि रु ३० हजार घुम्ती कोषबाट पैसा लिएर च्याउखेती गरिन्। चार सय लोकल कुखुरा र दुई हजार ५०० गिरीराज कुखुरापालन गरेर प्रशस्त आम्दानी गरेको उनले बताइन्। समूहले आम्मनिर्भर बनाएकाले यसैलाई निरन्तरता दिने उनले बताइन्। उनीहरुको ३० जनाको समूह छ । उनका अनुसार घुम्ती कोषको पैसा एक वर्षमा साँवामात्रै फिर्ता गर्नुपर्छ ब्याज लाग्दैन ।
घोराहीका उपप्रमुख हुमा डिसीले मुक्तकमलरीसँग सहकार्य गरेर काम गरेको बताइन्। “विभिन्न तालिम दिएर काम गरेका छौँ”, उनले भनिन्। पालिकाभित्र रहेका छाना नभएकालाई मुक्त कमलरीलाई छाना दिने कार्यक्रम रहेकाले छाना नभएकाहरुले पालिकामा सम्पर्क गर्न उनले आग्रह गरिन्। सीप सिकेकालाई स्वरोजगार बन्न पनि उनले आग्रह गरिन्।
मुक्त कमलरी विकास मञ्चका परियोजना अधिकृत सुवोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजनाअन्तर्गत प्रत्यक्ष ४६५ जनालाई सहयोग गरेको बताए। उनले दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम लागू भएको छ । लक्षित वर्गमा पूर्वकमलरी, सीमान्तकृत तथा असहाय रहेको बताए। महिलाहरुले समूह बनाएर व्यावसायिक कामबाट आम्दानी गर्न थालेको उनले जानकारी दिए। रञ्जिता अधिकारी/रासस







२६ जेठ , २,०८३