नोटिफाई नेपालLoading...



च्यासल युथ क्लबले जारी सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिगमा चौथो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नयाँ बस्ती युवा क्लबविरुद्ध ४–२ को जित निकाल्दै च्यासल युथले जारी लिगमा चौथो सफलता निकालेको हो। यो जितसँगै च्यासल ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा पनि उक्लिएको छ।
च्यासलले ९ खेलबाट १४ अंक जोड्यो। जुन शीर्ष स्थानको प्लानिङ ब्वाइजको भन्दा आठ अंक र दोस्रो स्थानको श्री भगवतीभन्दा चार अंकले पछि हो। नेपालको यु–१९ फुटबल टोलीका स्टार खेलाडीले भरिएको च्यासलले यस लिगमा दुई बराबरी र तीन हार सामना गरेको छ। पराजित नयाँ बस्ती ९ खेलबाट आठ अंकका साथ दशौं स्थानमा यथावत् छ। च्यासलको जितमा नीरज कार्की, सुवास बम ठकुरी र कुशल देउवाले गोल गरे।
च्यासलले एक गोल आत्मघातीस्वरूप उपहार पाएको हो। नयाँ बस्तीका पूर्णबहादुर गुरुङ र जमिन लक्समले गोल गरे। खेलको दशौं मिनेटमा नीरजको गोलमार्फत च्यासलले अग्रता लिएको थियो। मध्य भागभन्दा परबाट कप्तान अश्विन घोरासैनीको लामो फ्रिकिक प्रहार पेनाल्टी बक्सनजिक नियन्त्रणमा लिँदै नीरजको ओभर हेड सट गोलमा परिणत भएको हो।
आठ मिनेटपछि नै निमा वाङ्गेल तामाङकोट आत्मघाती गोलबाट च्यासलको अग्रता दोब्बर बन्यो। कर्नर प्रहारबाट आएको बललाई विक्रम तामाङले गरेको क्रस वाङ्गेलको खुट्टामा ठोकिएर गोल हुन पुग्यो। केही समयपछि नै च्यासलले तेस्रो गोल गर्यो। काउन्टर प्रयासमा सुवासले २३औं मिनेटमा गोल गरेपछि च्यासल ३–० ले अगाडि बढ्यो।
कुशल देउवाले मध्य भागबाट दिएको पास सुवासले नियन्त्रणमा लिएका थिए। त्यो बल ड्रिब्लिङ गर्दै सुवासले पेनाल्टी बक्समा नयाँ बस्तीका गोलकिपर पासङ लामालाई पनि बिट गर्दै खाली पोस्टमा गोल गरेका हुन्। दुई मिनेटपछि नै नयाँ बस्तीले एक गोल फर्कायो।
पूर्णबहादुरको गोलबाट नयाँ बस्तीले अन्तर ३–१ मा छोट्यायो। उनले च्यासलका दुई डिफेन्डरका बीच हेडरमार्फत गोल गरेका हुन्। यसपछि पहिलो हाफमा च्यासल ३–१ ले अगाडि रह्यो। दोस्रो हाफमा पनि दुवै तर्फबाट गोल भयो। कुशल देउवाले ७८औं मिनेटमा गोल गरे र च्यासललाई ४–१ ले अग्रता दिलाए। काउन्टर आक्रमणमा च्यासलले चौथो गोल गरेको हो।
नीरज कार्कीले राइट साइडबाट दिएको बललाई कुशलले पेनाल्टी बक्सभित्र वान टचमार्फत जाली चुमाएका हुन्। ८९औं मिनेटमा जमिनले नयाँ बस्तीका लागि दोस्रो गोल गरे। पेनाल्टी बक्सबाहिरबाट दोस्रो बारको टप कर्नर च्याप्दै उनले सुन्दर गोल गरेका थिए। त्यसपछि बाँकी समयमा नयाँ बस्तीले गोल फर्काउन सकेन र लिगमा तेस्रो हार सामना गर्यो। नयाँ बस्तीले जारी लिगमा समान दुई जित र बराबरी जित निकालेको छ। प्लानिङ ब्वाइज युनाइटेड २२ अंकका साथ लिगको शीर्ष स्थानमा छ। उसलाई श्री भगवती क्लबले १८ अंकका साथ पछ्यारहेको छ। सरस्वती युथ क्लब ६ अंक र अन्नपूर्ण क्लब (आरसिटी) पाँच अंकका साथ रेलिगेसन क्षेत्रमा छन्।
.jpg)






२६ जेठ , २,०८३